कविता प्रतियोगितामा अभिषेक र आयुष प्रथम

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १५, सोमबार १३:०२
कविता प्रतियोगितामा अभिषेक र आयुष प्रथम

विराटनगर । विराटनगरको अरनिको कलेजमा आयोजना गरिएको खुला कविता प्रतियोगितामा अभिषेक साह र आयुष पोखरेल प्रथम भएका छन् ।

विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले अंग्रेजी र नेपाली भाषामा छुट्टाछुट्टै कविता प्रतियोगिता आयोजना गरेको कलेजले जनाएको छ ।

कविता प्रतियोगितामा ३५ जनालाई पछि पार्दै अंग्रेजी भाषातर्फ अभिषेक साह र नेपाली भाषातर्फ आयुष पोखरेल प्रथम भएका छन् । अंग्रेजी भाषातर्फ नेहाकुमारी झा द्वितीय हुँदा जावेद अख्तर र आरोही ढकाल तृतीय भए ।
अख्तर र ढकालको बराबरी नम्बर आएका कारण दुवैलाई तृतीय पुरस्कार दिने निर्णय गरेको थियो ।

त्यस्तै, नेपाली भाषातर्फ सुम्निमा न्यौपाने द्वितीय र मनास्लु कोइराला तृतीय भइन् । प्रतियोगितामा सहभागी विद्यार्थीले राजनैतिक विकृति, विसंगति, भ्रष्टाचार, जातीय विभेद, गरिबी, युवा पलायन, बलात्कारलगायतका विषयमा केन्द्रित रहेर लेखेका कविता वाचन गरेका थिए ।

क्याम्पसका सञ्चालक भरतराज दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्राचार्य राजेश कार्की, सञ्चालक उमेन्द्र लुइँटेल, डा. भविन्द्र निरौला, अतिरिक्त क्रियाकलापका संयोजक विमल भट्टराई, निर्णायक द्वय मीनकुमार नवोदित, भरत बर्बरिकलगायतले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि यस्ता मञ्च महत्त्वपूर्ण हुने बताए ।

उनीहरूले आफूभित्र रहेको प्रतिभालाई उजागर गर्न विद्यार्थीलाई आग्रहसमेत गरे ।

कोशी प्रदेशकै उत्कृष्ट कलेजका रूपमा रहेको अरनिकोले बेलाबेला कवितासहित वादविवाद, वक्तृत्व, हाजिरी जबाफ, गायन, नृत्य, खेलकुदलगायतका प्रतियोगिता आयोजना गर्दै आएको छ ।

कलेजले अध्ययनसँगै अतिरिक्त क्रियाकलापलाई उच्च प्राथमिकतामा राख्दै आएको प्राचार्य राजेश कार्कीले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.