
काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण शुल्क बढाइएकोप्रति प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले कडा आपत्ति जनाएको छ। मञ्चले यो शुल्क वृद्धि गरिब र विपन्न कामदारमाथि गरिएको गम्भीर आर्थिक शोषण भएको दाबी गरेको छ।
स्वास्थ्य परीक्षण शुल्क ६ हजार ५ सय रुपैयाँबाट ४६ प्रतिशतले बढाएर ९ हजार ५ सय रुपैयाँ तोकिएको छ। यो निर्णय अन्यायपूर्ण मात्र नभई वैदेशिक रोजगारीमा निर्भर गरिब तथा विपन्न कामदारमाथि गरिएको गम्भीर आर्थिक शोषण हो।
मञ्चका अध्यक्ष जनक रावलले विज्ञप्ति जारी गर्दै सरकारले खाडी तथा मलेसिया जाने कामदारका लागि सेवा शुल्क (सर्विस चार्ज) जम्मा १० हजार रुपैयाँ मात्र तोकेको अवस्थामा स्वास्थ्य परीक्षणको नाममा मात्रै ९ हजार ५ सय रुपैयाँ असुल्नु आपत्तिजनक भएको उल्लेख गरेका छन्।
दैनिक करिब १ हजार ५ सय नेपाली वैदेशिक रोजगारीमा जाने गरेको सन्दर्भमा, यो शुल्क वृद्धिले समग्र श्रमिक वर्गमाथि अतिरिक्त आर्थिक भार पर्ने मञ्चको भनाइ छ। यूएई, साउदी अरब, कतार, मलेसिया र ओमान जाने अधिकांश नेपाली श्रमिक आर्थिक रूपमा अत्यन्तै विपन्न अवस्थामा छन्।

























