प्रश्न : चुनावपछि प्रधानमन्त्री काे बन्छ ? जवाफ नदिइ हिँडे कुलमान

Share this
757shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १६, मंगलबार १५:२१

विराटनगर । ‘उज्यालो नेपाल पार्टी’ को घोषणासँगै राजनीतिक सक्रियता बढाएका ऊर्जा तथा भौतिक पूर्वाधार विकास मन्त्री कुलमान घिसिङले दुई दिन पूर्वी नेपालमा विताए । सरकारी संरचनाको निरीक्षणका लागि आइतबार आएका उनले राजनीतिक भेटघाट पनि गरे ।

आइतबार धरान र सोमबार मोरङको बेलबारीमा आयोजित कार्यक्रममा उनले वैकल्पिक शक्तिहरू एक भएर अघि बढ्नुपर्ने बताए । बेलबारीमा आयोजित अन्तरक्रियामा पार्टीको नाम उल्लेख नभए पनि ब्यानरमा घिसिङको तस्बिर राखिएको थियो, जहाँ स्थानीयले उनलाई भव्य स्वागत गरे ।

वैकल्पिक शक्ति एक हुनुपर्छ

बेलबारीस्थित आदिवासी जनजाति महासंघको भवनमा करिब १२ मिनेट सम्बोधन गर्दै घिसिङले देशको समृद्धिका लागि नयाँ र वैकल्पिक शक्तिहरू मिल्नुको विकल्प नभएको बताए । उनले भने, ‘देशको समृद्धिका लागि एउटा क्षेत्रको उज्यालोले मात्र पुग्दैन। हामीले सुशासन, सामाजिक न्याय, र गरिबी निवारणको उज्यालो ल्याउनुपर्छ। रोजगारी सिर्जना गरेर विदेश जाने बाध्यता अन्त्य गर्ने उज्यालो आवश्यक छ।’

रवि लामिछाने र बालेन शाहसँगको एकताका विषयमा सोधिएको प्रश्नमा उनले सबै वैकल्पिक शक्ति एक भएर अघि बढ्नुपर्नेमा जोड दिए। ‘हामी नयाँ भनिने र वैकल्पिक शक्तिहरूले एक-अर्काको विरोध गर्नुभन्दा पनि एकताबद्ध भएर अघि बढ्ने दिन आएको छ,’ उनले भने।

कार्यक्रमको अन्त्यमा स्थानीय पत्रकारहरूले घिसिङलाई चारवटा प्रश्न सोधेका थिए ।

चुनाव खर्च कसरी जाेहाे गर्ने भन्ने प्रश्नमा उनले फागुन २१ को निर्वाचनका लागि बजेट अभाव नरहेको स्पष्ट पारे ।

नयाँ पार्टी एकता गर्ने कि नगर्ने भन्ने प्रश्नमा वैकल्पिक शक्तिहरू (रवि र बालेनसहित) एकता हुनुपर्ने बताए ।

राजीनामा कि मन्त्री पदमै रहेर चुनाव लड्ने भन्ने तेस्रो प्रश्नमा उनले विगतका प्रधानमन्त्री र मन्त्रीहरूले राजीनामा नदिई चुनाव लडेको इतिहास स्मरण गराउँदै भने, ‘हामी चुनाव लड्ने बेलामा कुरा गर्छाैं र त्यसको उचित व्यवस्थापन गरेर अघि बढ्छौं।’ उनको संकेत मनोनयन दर्ताअघि राजीनामा दिने तर्फ थियो ।

‘चुनावपछि प्रधानमन्त्री को बन्छ,  तपाईं कि रवि लामिछाने?’ भन्ने अन्तिम प्रश्नको भने उनले जवाफ दिएनन्, केवल मुस्कुराएर फर्किए ।

कुलमान घिसिङको कार्यक्रममा भेला भएका धेरैजसो समर्थक धरानका मेयर हर्क साम्पाङका समेत शुभचिन्तक थिए । उज्यालो नेपाल पार्टीका नेता डकेन्द्रसिंह थेगिमको पहलमा यो भेला आयोजना गरिएको थियो ।

घिसिङले आइतबार धरान पुग्दा मेयर साम्पाङलाई भेट्ने इच्छा व्यक्त गरेका थिए । तर, श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका साम्पाङले व्यस्तताको कारण देखाउँदै समय नदिएपछि भेटघाट हुन सकेन । यद्यपि, श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले भने आफूहरू पनि वैकल्पिक शक्तिहरू मिल्नुपर्ने पक्षमा रहेको तर अध्यक्षको व्यस्तताले भेट हुन नसकेको हुन सक्ने बताए ।

राजनीतिक भेटघाटबाहेक मन्त्री घिसिङले विकास आयोजनाहरूको निरीक्षणमा पनि समय बिताए ।

कोशी अस्पतालको निर्माणाधीन भवनको निरीक्षण गर्दै काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई मजदुर थपेर कामको गति बढाउन कडा निर्देशन दिए ।

धरान र बेलबारीको भेटघाटपछि उनले निर्माणाधीन राजमार्गको निरीक्षण गरे। ठेकेदारले माटो र गिटी-बालुवाको अभावले काम ढिलो भएको गुनासो गरेपछि मन्त्री घिसिङले आश्चर्य प्रकट गर्दै वन मन्त्रालयसँग सहजीकरण गरिदिने आश्वासन दिए ।

दमक र झिलझिलेमा निर्माणाधीन संरचनाहरूको निरीक्षणपछि मन्त्री घिसिङ सोमबार दिउँसो भद्रपुर विमानस्थल हुँदै काठमाडौँ फर्किएको नेता डकेन्द्रसिंह थेगिमले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.