
विराटनगर । नेपाली कम्युनिष्ट पार्टी नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डमाथि विराटनगर विमानस्थलमा दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका व्यक्तीलाई प्रहरीले छाडेको छ ।
सोमबार साँझ विराटनगर विमानस्थलबाट पक्राउ परेका अनुपबहादुर बस्नेतलाई मंगलबार प्रहरीले सम्झाएर छाडेको हो ।
नेकपाको विराटनगरमा आयोजित सन्देशसभा सकेर फर्कने क्रममा विमानस्थल परिसरमा सोमबार साँझ प्रचण्डमाथि उनले दुर्व्यवहार गरेका थिए ।
मादक पदार्थ पनि सेवन गरेको देखिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ परेका व्यक्तीलाई मंगलबार सम्झाएर छाडिएको मोरङ प्रहरी प्रमुख कबित कटवालले जानकारी दिए । ‘मदिरा सेवन गरी विमानस्थलमा होहल्ला गर्न पाइदैन, मर्यादित हुनुपर्छ,’ उनले भने,‘ हामीले सम्झाएर छाडेका छौं ।’
पक्राउ परेका व्यक्तीसँग प्रचण्ड सवार प्लेनमै जाने टिकट थियो । विमानस्थलमा प्रचण्डलाई गाली गरेपछि उनी काठमाडाैं जान पाएनन् । मंगलबार प्रहरीले नै टिकटका लागि समन्वय गरिदिएको थियो । त्यसपछि उनी काठमाडौं उडेका थिए ।

























