विराटनगरमा धूमधामका साथ उँधौली पर्व मनाए  (फोटो फिचर)

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १८, बिहीबार १८:५५
 विराटनगरमा धूमधामका साथ उँधौली पर्व मनाए 

विराटनगर । विराटनगरमा उँधौली पर्व धूमधामका साथ मनाइएको छ । पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उँधौली पर्व मनाउँदै आएका छन् ।

किराँतीहरूको पर्व यले तङ्वे ५०८५ (२०८२) चासोक तङ्नाम (उँधौली  पर्व) का अवसरमा विराटनगर लगायत देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

किराँत याक्थुङ चुम्लुङ विराटनगरले आयोजना गरेको उँधौली विशेष कार्यक्रममा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मुलुक विविध संस्कृति, भाषा, भाषी र विभिन्न परम्पराले भरिपूर्ण भएको बताए ।

उनले विविध संस्कृति र परम्पराले मुलुकको स्वतन्त्रता, स्वाधीनता र सार्वभौमसत्तालाई मजबुत बनाउने बताएका हुन् ।

किराँत याक्थुङ चुम्लुङ विराटनगरका अध्यक्ष टीका नाल्बो चोङबाङ (कुमार) को अध्यक्षतामा भएको कार्यक्रम नारायणकुमार यक्सोद्वारा लिखित ‘आनी मुन्धुम’ नामक पुस्तक पनि विमोचन गरिएको थियो ।

यस पुस्तकमा किराँतहरूले जन्मदेखि मृत्युसम्म गरिने संस्कारका बारेमा विस्तृत रूपमा लेखिएको छ । पुस्तक सबै जनाले बुझ्न गरे गरी नेपाली भाषामा पहिलो पटक यक्सोले पुस्तक लेखेका हुन् ।

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उँधौली पर्व मनाउँदै छन् । किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम पर्वका नाममा उँधौली धूमधामसँग मनाए ।

पूजापछि आ–आफ्नो परम्पराअनुसार चण्डी नाच, च्याब्रुङ नाच, ढोल नाचलगायतका नाच नाचेर मनोरञ्जन गर्छन् । पर्व मनाउन भेला भएका किराँतहरूले आफ्नो परम्परागत सांस्कृतिक कार्यक्रम र विभिन्न खेलकुद प्रतियोगिता पनि आयोजना गर्ने परम्परा छ ।

वैशाख शुक्ल पूर्णिमामा उँभौली पूजा गरेका किराँतले आज उँधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् । जाडोमा तल झर्ने गर्मीमा माथि लेकमा जाने रूपमा पनि उँधौली र उँभौली पर्वलाई लिने गरिन्छ ।

खस आर्यले मनाउने धान्य पूर्णिमा, नेवार समुदायले मनाउने यः मरि पुन्हि अर्थात् योमरी पूर्णिमा र किराँत समुदायले मनाउने उँधौली पर्वको भाव भने एकै छ । नयाँ अन्न बाली भित्र्याएपछि आफूले मानेका देवी देवतालाई चढाएर खाने परम्परा छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.