
विराटनगर । जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानको टोलीले विभिन्न स्थानबाट २१० किलोग्राम लागू औषध गाँजा र ठूलो परिमाणको प्रतिबन्धित औषधिसहित ८ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय धरानले धरान उपमहानगरपालिका–१३ स्थित साबिर ग्यारेज मा विशेष सूचनाको आधारमा छापा मार्दा १ सय ४९ किलोग्राम लागू औषध गाँजा फेला पारेको थियो। प्रहरीले लुकाई छिपाई राखिएको उक्त गाँजा र ओसारपसारमा प्रयोग भएको मे १ ज २०१८ नम्बरको बोलेरो गाडी बरामद गरेको छ।
गाँजा सहित संलग्न रहेका धनकुटा साँगुरीगढी गाउँपालिका–४ का ईन्द्र लिम्बु, जिपसन लिम्बु र ग्यारेज सञ्चालक भारतीय नागरिक साबिर आलम लाई तत्काल नियन्त्रणमा लिइएको छ।
यसैगरी, जिल्ला प्रहरी कार्यालय सुनसरीले सोही दिन हरिनगर गाउँपालिका–२, भुटाहाबाट सोही स्थानका कैला अन्सारी लाई ६१ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको जनाएको छ। यी दुई स्थानबाट मात्रै कुल २१० किलोग्राम गाँजा बरामद भएको हो।
गाँजा नियन्त्रण बाहेक, सुनसरीको अस्थायी प्रहरी चौकी देउराली र बरगाछीबाट मंसिर २० गते चेकजाँचमा खटिएको प्रहरी टोलीले लागू औषध कारोबारमा संलग्न थप चार जनालाई पक्राउ गरेको छ।
धरान–५ का जितेन्द्र राई र धनकुटा साँगुरीगढी गाउँपालिका–७ का जीवन राईलाई १४० ट्याब्लेट प्रतिबन्धित औषधिसहित नियन्त्रणमा लिइएको छ। त्यसैगरी, धरान–५ का भलराम श्रेष्ठ र धरान–१५ का समिर सुनाम लाई ट्रामाडोल–४०० ट्याब्लेट र डिकोलिक–४०० ट्याब्लेट सहित नियन्त्रणमा लिइएको छ।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ।























