‘संक्रमणकालीन न्याय चाँडो निष्कर्षमा पुर्याउनु आवश्यक’

Share this
764shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २२, सोमबार १४:२४

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले लोकतन्त्र कमजोर हुँदा मानवअधिकारको सुनिश्चिततामा गम्भीर समस्या उत्पन्न हुने भन्दै यस विषयमा सबै पक्षलाई सचेत रहन आग्रह गरेका छन् ।

ललितपुरमा आज (सोमबार) आयोजित १७औँ मानव अधिकार राष्ट्रिय महाभेलाको उद्घाटन कार्यक्रममा बोल्दै गृहमन्त्री अर्यालले लोकतन्त्र र मानवअधिकार एक–अर्काका परिपूरक भएको स्पष्ट पारे ।

गृहमन्त्री अर्यालले लोकतन्त्र सुदृढ भए मात्रै मानवअधिकारको प्रभावकारी कार्यान्वयन सम्भव हुने बताउँदै सरकार लोकतन्त्रलाई संस्थागत गर्न प्रतिबद्ध रहेको जानकारी दिए।

उनले नेपालले अन्तर्राष्ट्रिय समुदायसँग गरेका प्रतिबद्धता पूरा गर्न र सबै नागरिकको मानवअधिकार सुनिश्चित गर्नका लागि संक्रमणकालीन न्याय प्रक्रियालाई यथाशीघ्र निष्कर्षमा पुर्‍याउनु आजको प्रमुख आवश्यकता रहेकोमा जोड दिए।

‘मानव अधिकार कुनै पनि सभ्य, समावेशी र लोकतान्त्रिक समाजको मेरुदण्ड हो। नागरिकको स्वतन्त्रता, समानता र सुरक्षित जीवन सुनिश्चित गर्नु राज्यको पहिलो दायित्व हो’ गृहमन्त्री अर्यालले भने।

उनले आसन्न प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सबै सरोकारवालाले आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

गृहमन्त्री अर्यालका अनुसार मानवअधिकार सुनिश्चित गर्ने कार्य राज्यले मात्र पूरा गर्न सक्दैन, यसमा समाजका हरेक तह, नागरिक समाज, मानव अधिकारकर्मी तथा आम नागरिकको साझा प्रयास आवश्यक पर्ने बताए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.