सांकेतिक तस्बिरविराटनगर । विराटनगरमा आज (बिहीबार) २ जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्। प्रहरीले दुवै घटनाको अनुसन्धान सुरु गरेको छ।
बिहान करिब १० बजे विराटनगर महानगरपालिका-९, चुलाचुली मार्गमा एक महिला मृत अवस्थामा फेला परेकी थिइन्। ती महिलाको नाम, थर र वतन खुलेको छैन तर उनी मागीखाई हिँड्ने तराईबासी जस्तो देखिएको प्रहरीले जनाएको छ।
यसैगरी, विराटनगर महानगरपालिका-७, धर्मभक्त मार्गस्थित अन्दाजी ६० वर्षका पुरुषोत्तम पन्त आफ्नै घरको प्यासेजमा मृत अवस्थामा फेला परेका छन्। हाटखोलाबाट प्रहरी नायब निरीक्षक मोहन बिक्रम कार्कीको कमाण्डमा टोली खटिई घटनास्थल सुरक्षित राखिएको छ। यस घटनाको पनि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक लेखनाथ दाहालको कमाण्डमा अर्को टोली खटिएको प्रहरीले जनाएको छ।























