
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी पुस ४ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। सोमबार मुख्यमन्त्री निवास मधेस भवनमा बसेको सात दलको बैठकमा पुस ४ गते विश्वासको मत लिने सहमति भएको जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोज कुमार यादवले बताए। नेता यादवले नेकपा एमालेको अहिले महाधिवेशन भइरहेका कारण पुस ४ गते विश्वासको मत लिने सहमति बनेको समेत जानकारी दिए।
नेता यादवका अनुसार यदि विश्वासको मत लिनुअघि नै सबै दलबीच सहमति भएमा एक-एक जनालाई मन्त्रीमा नियुक्त गरिनेछ, नभए विश्वासको मतपछि मात्र मन्त्रिपरिषद् विस्तार गरिनेछ। यस्तै, उनले मधेस प्रदेश सभाको सभामुख जसपाले नै पाउने दाबी गरे। प्रदेश सभाको नयाँ सभामुख चयनका लागि प्रक्रिया बढाउन आगामी पुस २ गते प्रदेश सभाको बैठक बोलाइएको छ।
हाल छ दलको समर्थनमा मुख्यमन्त्री बनेका कृष्णप्रसाद यादवको मन्त्रिपरिषद्मा जनमत पार्टीका दलका नेता अर्थमन्त्री छन् भने नेकपा एकीकृत समाजवादी पार्टीका प्रमुख सचेतक गणेश पटेल र नेपाली कांग्रेसकै जंगिलाल राय बिना विभागीय मन्त्रीका रूपमा कार्यरत छन्।

























