अंशु गौतमको हत्यापछि आरोपीका परिवारै विस्थापित

Share this
678shares
मुलुकी खबर
किशोर बुढाथोकी
clock२०८२ पुष १, मंगलबार १८:११

विराटनगर । मोरङको लेटाङ नगरपालिका–२ की १२ वर्षीया अंशु गौतमको बलात्कारपछि हत्या भएको घटनाले एउटा बालिकाको ज्यान त खोस्यो नै ।

यो घटनाले पूरै गाउँको सामाजिक संरचना, छिमेकीबीचको सम्बन्ध र पीडित–पीडक दुवै परिवारको जीवनलाई तहसनहस बनाइदिएको छ । अंशुको जघन्य हत्या भएपछि पीडित परिवार शोक र अभावको चरम पीडामा डुबेको छ ।

उनको बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा छिमेकी ५९ वर्षीय पदमबहादुर अधिकारीलाई प्रहरीले मंसिर १८ गते पक्राउ गरेको थियो । त्यसपछि आरोपी पदमबहादुरको परिवारका सदस्य गाउँमै बस्न नसक्ने अवस्थामा पुगेका छन् । आक्रोशित भिडको आक्रमण, घरमा गरिएको तोडफोड र निरन्तर असुरक्षाको अनुभूतिपछि पदमबहादुरको परिवार थातथलो छाडेर विस्थापित भएको छ ।

लेटाङ–२ मा अंशु र पदमबहादुरको घर एकै ठाउँमा छ । जोडिएको घरकै व्यक्तिले बलात्कारपछि अंशुको हत्या गरेको प्रहरीले पत्ता लगाएपछि २ परिवारबीचको सम्बन्ध अपराध, घृणा र डरले चिराचिरा परेको छ । बलात्कारपछि अंशुको हत्या गरेको आरोपमा पदमबहादुरलाई पक्राउ गरेर प्रहरीले कर्तव्य ज्यान र जबरजस्ती करणी मुद्दामा अनुसन्धान गरिरहेको छ ।

उनी अहिले प्रहरी हिरासतमा छन् । घटनाको इलाका प्रहरी कार्यालय लेटाङका इन्स्पेक्टर सागर साह नेतृत्वको टोलीले विस्तृत अनुसन्धान गरिरहेको छ । मोरङ प्रहरीले पदमबहादुरलाई पक्राउ गरेको ३ दिनपछि अर्थात् मंसिर २१ गते घटनाको विस्तृत विवरण सार्वजनिक गरेको थियो ।

उनी अनुसन्धानको दायरामा आएलगत्तै गाउँमा आक्रोश फैलियो । आक्रोशित भिडले २१ गते साँझ पदमबहादुरको घरमा आक्रमण एवं तोपडफोड गरेको थियो । वडाध्यक्ष तेजप्रसाद तिम्सिनाका अनुसार आक्रमणबाट घरमा क्षति पुगेको छ । ठूलो संख्यामा परिचालित सुरक्षाकर्मीले घरलाई सुरक्षा दिएर थप क्षति हुन दिएनन् । त्यसपछि असुरक्षित महसुस गरेर आरोपीको परिवारका सदस्यहरू तत्काल गाउँ छाड्न बाध्य भएका हुन् ।

आरोपीको लेटाङ–२ स्थित घर ।

पदमबहादुरको परिवारिक अवस्था आफैंमा जटिल र कमजोर छ । उनकी श्रीमती, ३ छोरी र १ छोरा छन् । २ छोरीको विवाह भइसकेको छ भने कान्छी अविवाहित छन् । छोरा यसअघि जबरजस्ती करणी आशयको मुद्दामा दोषी ठहर भई कैद सजाय भुक्तान गरेर कात्तिक १८ गते मात्रै जेलमुक्त भएका थिए ।

स्थानीयका अनुसार जेलबाट छुटेपछि पनि छोरा स्थिर जीवनमा फर्कन सकेका थिएनन् । त्यसअघि नै बुहारीले छाडिसकेकी छन् । पतिको निधन भएपछि माइली छोरी लेटाङस्थित माइतीमै बस्दै आएकी थिइन् । घटना हुनुअघि घरमा पदमबहादुर पत्नी र विवाह भइसकेकी १ छोरी सँगै बस्दै आएका थिए । पछि जेलबाट छुटेर छोरा आए । तर, पदमबहादुर पक्राउ परेपछि ती सबै जना घर छाड्न बाध्य भएका हुन् ।

वडाध्यक्ष तेजप्रसादका अनुसार पदमबहादुरको पारिवारिक आर्थिक अवस्था कमजोर नै छ । उनी वैदेशिक रोजगारीमा पनि गएका थिए । करिब ९ वर्षअघि साउदी अरबबाट फर्किएपछि खेतीकिसानी गरेर परिवार धान्दै आएका थिए ।

गाउँमा उनको १५–१६ कट्ठाजति जग्गा चैं रहेको वडाध्यक्ष तेजप्रसादको भनाइ छ । तर, पदमबहादुरलाई अपराधको आरोप लागेपछि घर, घरभित्र रहेका सबै सामानसहित जग्गा जमिन छाडेर परिवारका सदस्य विस्थापित भएका छन् । विस्थापित भएर बसेका ठाउँमा तनावसँगै अभाव पनि झेलिरहेका छन् ।

पदमबहादुरकी माइली छोरी भन्छिन्, ‘तोडफोड गरेर घरमा क्षति पुर्याइयो । गाउँघरमा बस्नै दिइएन । कपडाबाहेक केही सामान निकाल्न पाएनौं । खेती लगाएको छ, तर जानै दिँदैनन् । बस्न असुरक्षित भएपछि थातथलो नै छाड्नुपर्यो ।’ लेटाङबाट विस्थापित भएकी पदमबहादुरकी पत्नी सुन्दरहरैँचाको खोर्सानेस्थित छोरीको घरमा बस्छिन् ।

पतिको मृत्यु भएपछि माइतीमै बस्दै आएकी माइली छोरीको घर खोर्सानेमा पनि छ । छोरीको सहारामा आमा बसिरहँदा छोरा झापास्थित काकाको घरमा बस्दै आएका छन् ।

वडाध्यक्ष तेजप्रसादका अनुसार कानुनी रूपमा अपराधमा संलग्न व्यक्तिलाई मात्र कारबाही हुन्छ । तर, सामाजिक यथार्थ फरक हुन्छ । ‘कानुन एकातिर हुन्छ, समाज अर्कोतिर । पीडित र पीडकका परिवार एकै ठाउँमा बस्न सक्ने अवस्था रहेन । अर्को घटना हुन सक्ने जोखिम थियो । त्यसैले सुरक्षाका दृष्टिले आरोपीका परिवारले बाहिरै बस्न उपयुक्त हुन्छ,’ उनी भन्छन् ।

उनका अनुसार गाउँबाट विस्थापित भएपछि आरोपीका परिवारलाई तत्कालका लागि आफन्तले व्यवस्थापन गरेका छन् । ‘झट्ट हेर्दा विस्थापितजस्तो देखिए पनि पीडकका परिवारलाई जोगाउनुपर्ने अवस्था आयो । बालिकाको हत्या गरिएको घटनाले आक्रोश बढ्दा उनीहरुलाई सुरक्षा आवश्यक थियो । उत्तेजित भिडले घर नै तोडफोड गरिदियो । परिवारका सदस्य त्यहीँ बसेको भए उनीहरुमाथि पनि आक्रमण हुन सक्थ्यो,’ तेजप्रसादले भने ।

इतिहासले पनि पीडित र पीडक दुवै परिवारलाई एउटै पीडामा बाँधेको देखिन्छ । वडाध्यक्ष तेजप्रसादका अनुसार दुवै परिवार २०४३ सालको बाढीपछि विस्थापित भएका थिए । रेडक्रसको समन्वयमा जग्गा उपलब्ध गराइएको थियो । पीडित र पीडक दुवै परिवारले रकम तिरेर जग्गा लिएका थिए । त्यहीँ घर बनाएर बसे ।

त्यतिबेला एउटै विस्थापनको पीडा भोगेका दुवै परिवार दशकौँसम्म छिमेकी भएर बसे । तर, २ परिवारबीचको सम्बन्ध विगतदेखि नै राम्रो नरहेको स्थानीय बताउँछन् । उनीहरुका अनुसार पदमबहादुरले जोडिएकै घरकी बालिकाको हत्या गरेको जघन्य अपराधले छिमेकीको इतिहास एवं सम्बन्धलाई अर्थहीन बनाइदिएको छ ।

अंशुको परिवारको अवस्था पनि अत्यन्तै दयनीय छ । उनका बुवाले दैनिक बिहान गाउँबाट कागती किचेर बेच्न लैजाने र त्यही नाफाबाट चामल, नुन, भुटुन किनेर परिवार चलाउने गरेको स्थानीय पत्रकार प्रशान्त निरौलाले बताए । उनका अनुसार रेडक्रसले उपलब्ध गराएको जग्गामा सानो घर बनाएर बस्दै आएका अभिभावकका लागि अंशुको हत्या असह्य पीडा बन्यो ।

अहिले अभिभावक अंशुको किरियामा छन् । स्थानीय, संघसंस्था, कर्मचारीसमेतले किरिया खर्च सहयोग गरिरहेका छन् । किरिया खर्चका लागि सहयोग गरिएको पत्रकार निरौलाले बताए । उनका अनुसार पारिवारिक आर्थिक अवस्था अत्यन्तै नाजुक रहेकाले सहयोग जुटाउन ‘अनलाइन क्याम्पेनिङ’समेत चलाइएको छ ।

अंशुको हत्या प्रकरणको अनुसन्धान प्रहरीका लागि निकै चुनौतीपूर्ण थियो । असोज २१ गते दिउँसो घरबाट निस्किएकी अंशु साँझसम्म नफर्किएपछि खोजी सुरु भयो । कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र शरीर र टाउको अलग गरिएको तथा कुहिएर दुर्गन्धित भएको अवस्थामा उनको शव फेला पर्यो । शव पहिचान गर्नै नसकिने अवस्थामा थियो । घटनास्थलबाट फेला परेका चप्पल र कपडालगायतका आधारमा अभिभावकले सनाखत गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङ, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र केन्द्रीय अनुसन्धान ब्यूरोको संयुक्त टोलीले ‘जस्टिस फर अंशु गौतम’ (जग) नाम दिएर विशेष अपरेशन सञ्चालन गर्यो । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल स्वयं अनुसन्धानमा सक्रिय रहे । मोबाइल प्रयोग नगर्ने बालिका, प्रत्यक्षदर्शीको अभाव र सीमित प्रमाणका कारण अनुसन्धान अत्यन्तै कठिन थियो ।

एसपी कटवालका अनुसार अंशुको शव भेटिएपछि ३ सयभन्दा बढी व्यक्तिसँग सोधपुछ र १६ जनाको पोलिग्राफ परीक्षण गरिएको थियो । प्रहरीले विद्यालयका साथी, शिक्षक, छिमेकी र जंगल क्षेत्रमा जाने सबैलाई अनुसन्धानको दायरामा ल्याएको थियो । आक्रोशित बनेका स्थानीयले थप क्षति नपुर्याउन् भने प्रहरीले पदमबहादुरको घरमा अहिले पनि सुरक्षा दिइरहेको छ ।

‘बालिकाको हत्यामा घर जोडिएकै व्यक्ति संलग्न रहेछन् । तर, प्रहरीले अनुसन्धानका क्रममा गाउँ भरिकासँग सोधपुछ गर्यो । एउटाले अपराध गर्दा सिंगो गाउँले दुःख पाउने अवस्था बन्यो । बलात्कारपछि बालिकाको हत्या गरिएको जघन्य अपराधले स्थानीय आक्रोशित थिए । त्यहाँमाथि प्रहरीको निरन्तरको अनुसन्धान र सोधपुछमा पर्नु परेपछि झन् रिसाए । घरमा तोडफोड हुनुको कारण त्यही हो,’ वडाध्यक्ष तेजप्रसाद भन्छन् । उनका अनुसार पीडक र पीडितको घर जोडिएकै भएकाले पनि आरोपीका परिवारलाई त्यहाँ बस्नलाई नैतिकताले दिएन ।

‘रिसईबीका कारण झन् अर्को घटना हुने सम्भावना भयो । नैतिकताले पनि पीडकका परिवारले त्यहाँ बस्न सक्ने अवस्था रहेन । त्यही भएर परिवारका सदस्यहरु अन्त हिँडेका हुन् । उनीहरुको व्यवस्थापन आफन्तले गरिरहेका छन्,’ उनले भने । लामो समयको अनुसन्धानपछि प्रहरीले बलात्कार र हत्यामा संलग्न रहेको निष्कर्ष निकाल्दै पदमबहादुरलाई पक्राउ गरेर कानुनको दायरामा ल्याएको हो ।

पदमबहादुरका छोरा कात्तिक १८ गते जेलमुक्त भएका थिए । त्यसको भोलिपल्टै शंकास्पद हिसाबले पदमबहादुर भारततर्फ लागे । मेघालयमा गाई फार्ममा काम गरिरहेका उनलाई आफन्तमार्फत आग्रह गरेर नेपाल फर्काइयो । फर्किएलगत्तै मंसिर १८ गते नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाउँदा उनले अपराध स्वीकार गरेको प्रहरीको दाबी छ ।

‘घाँस काट्न सघाए पैसा दिन्छु’ भन्दै पदमबहादुरले सुनसान जंगलतर्फ लगेर जबरजस्ती करणी गरेपछि हँसियाले घाँटी रेटेर अंशुको हत्या गरेको पाइएको एसपी कटवालले बताए । त्यसपछि घाँसको भारी बोकी घर फर्किएर पदमबहादुर अंशुको खोजीमा सहभागी बने । सद्भाव देखाएर आफूलाई जोगाउने प्रयास गरे । उनी पक्राउ परेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको शव बुझेर अभिभावकले अंशुको अन्त्येष्टि गरिसकेका छन् ।

यो घटना एउटा परिवारको पीडामा सीमित छैन । यसले समाजमा बालबालिकाको सुरक्षा, छिमेकीसँगको सम्बन्ध, अपराधपछि सामूहिक आक्रोश र निर्दोष परिवारले भोग्नुपर्ने पीडाबारे गम्भीर प्रश्न उठाएको छ । पीडकका परिवार अपराधमा संलग्न नुहँदा पनि विस्थापनको पीडा भोगिरहेका छन् । १ जनाले अपराध गर्दा सिंगो परिवारले दुःख पाएको छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×