फोटो क्याप्सन : मोरङको नेमुवामा चालकको लापसे परीक्षण गरिँदै ।विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाको नेमुवामा गरिएको सवारी चालकहरुको लागु पदार्थ सेवन (लापसे) परीक्षणले सडक सुरक्षामामाथि गम्भीर चुनौती उजागर गरेको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको आयोजना, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको समन्वय र कोशी प्रदेश प्रहरी अस्पताल इनरुवाको प्राविधिक सहयोगमा इलाका प्रहरी कार्यालय नेमुवाको परिसरमा शुक्रबार गरिएको परीक्षणमा ४१ जना चालकको स्वास्थ्य जाँच गर्दा १० जनाको रिपोर्ट ‘पोजिटिभ’ आएको हो । कुल परीक्षणमध्ये करिब २४ प्रतिशत चालक लागुऔषधको प्रभावमा सवारी चलाइरहेको तथ्य बाहिर आएको छ ।
यो तथ्यले सरोकारवालालाई चिन्तित तुल्याएको छ । प्रारम्भिक रूपमा चालढाल, बोलीचाली, प्रतिक्रिया क्षमता र शारीरिक अवस्थालाई आधार मानेर शंकास्पद देखिएका चालकलाई चिकित्सकीय परीक्षण गरिएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताए ।
उनका अनुसार परीक्षणपछि म्याजिक भ्यानका ६ जना, टिपर, विङ्गर, मोटरसाइकल र सीटी सफारीका १–१ जना चालकले लागुऔषध सेवन गरेको पुष्टि भएको छ । लागुऔषधको प्रभावमा सवारीसाधन चलाइरहेका चालकहरुलाई तत्काल नियन्त्रणमा लिइएको जानकारी न्यौपानेले दिए ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रवक्ता डीएसपी सन्तोष श्रेष्ठका अनुसार परीक्षण गरिएका चालकहरूमा अस्वाभाविक व्यवहार देखिएपछि चिकित्सकको टोलीमार्फत लापसे परीक्षण गराइएको हो । ‘सामान्य चेकिङमा चालकको बोली अस्पष्ट, आँखाको गतिविधि असामान्य र प्रतिक्रिया ढिलो देखिएपछि स्वास्थ्य परीक्षण आवश्यक ठानियो,’ उनले भने, ‘परीक्षणपछि १० जनाको रिपोर्ट ‘पोजिटिभ’ आयो । उनीहरूलाई थप कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ ।’
नियन्त्रणमा लिइएका चालकलाई हिरासतमा राखेर लागुऔषध ऐनअन्तर्गत मुद्दा दर्ता गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । ४१ मध्ये १० जनामा लापसे पुष्टि हुनु अत्यन्तै गम्भीर विषय भएको बताए । ‘२४ प्रतिशत चालक लागुऔषध सेवन गरेर सवारी चलाइरहेका छन् भन्ने तथ्य सामान्य होइन,’
डीएसपी श्रेष्ठले भने, ‘यात्रुको जीवन सिधै चालकको हातमा हुन्छ । त्यस्तो अवस्थामा लापसे गरेर सवारी चलाउनु भनेको ज्यानसँग खेलवाड गर्नु हो ।’ डीएसपी श्रेष्ठका अनुसार पछिल्लो समय कोशी प्रदेशका विभिन्न सडकमा चालकले लागुऔषध सेवन गरेर सवारी चलाएको गुनासो बढ्दै गएको छ ।
सार्वजनिक यातायातदेखि मालवाहक सवारी र दुईपांग्रे साधनसम्ममा यस्तो प्रवृत्ति देखिन थालेपछि ट्राफिक प्रहरीले आकस्मिक चेकिङ र लक्षित परीक्षणलाई प्राथमिकतामा राखेको कोशी प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी दीपक गिरीले बताए । ‘लापसे र मापसे सवारी दुर्घटनाका प्रमुख कारण हुन्,’ उनले भने, ‘थोरै असावधानीले पनि ठूलो मानवीय र भौतिक क्षति निम्त्याउँछ । त्यसैले अहिले सडकमा ट्राफिक सक्रियता बढाइएको छ ।’
इन्स्पेक्टरसमेत रहेका कोशी प्रदेश प्रहरी अस्पताल इनरुवाका डाक्टर शेरजंग तामाङको नेतृत्वमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले चालकको स्वास्थ्य परीक्षण गरेको थियो । लागुऔषध सेवनको असर तत्कालै देखिने भएकाले चालक तथा सहचालकले देखाएका असामान्य गतिविधिका आधारमा परीक्षण गर्ने गरिएको ट्राफिक प्रहरीको भनाइ छ । एसपी गिरीका अनुसार यस्ता परीक्षण नियमित निगरानीको आधारमा गरिँदै आएका छन् । आगामी दिनमा अझ कडा रूपमा विस्तार गरिने उनले बताए ।
उनका अनुसार मादक पदार्थ सेवन (मापसे) परीक्षण ‘ब्रेथ लाइजर’ मेसिनबाट नियमित रूपमा गरिँदै आए पनि लागुऔषध सेवन परीक्षणमा प्रयोग हुने किट महँगो हुने भएकाले ट्राफिक प्रहरीले एक्लै किन्न र प्रयोग गर्न सक्ने अवस्था छैन । ‘स्थानीय तह र अन्य सरोकारवाला निकायसँग समन्वय गरेर परीक्षण र कारबाही अघि बढाइएको छ,’ उनले भने ।
ट्राफिक प्रहरीले लापसे र मापसे गरेर सवारी चलाउने चालकलाई उच्च जोखिम समूहमा वर्गीकृत गर्दै विशेष निगरानी थालेको जनाएको छ । सडक सुरक्षालाई मजबुत बनाउन आकस्मिक चेकिङ, कानुनी कारबाही र स्वास्थ्य परीक्षणलाई ‘नियमित एजेन्डा’का रूपमा प्रदेशभर विस्तार गरिँदैछ ।
एसपी गिरीका अनुसार आगामी दिनमा लागुऔषध सेवन गरेर सवारी चलाउने प्रवृत्तिविरुद्ध ट्राफिक प्रहरी अझ कठोर रूपमा प्रस्तुत हुनेछ । कुनै पनि दबाब वा प्रभाव बिना कानुनअनुसार कारबाही गरिने उनको भनाइ छ ।
चालकले लापसे गर्ने गरेको तथ्यले सडकमा चलिरहेका सवारीसाधन र यात्रुको सुरक्षाबारे गम्भीर प्रश्न खडा गरेको छ । लागुऔषधको नसामा सवारी चलाउनु चालकका लागि मात्रै नभएर सडक प्रयोग गर्ने हरेक नागरिकका लागि खतरापूर्ण रहेको प्रहरीको निष्कर्ष छ । प्रत्यक्ष नियन्त्रण र कानुनी कारबाहीमार्फत सडक सुरक्षालाई प्राथमिकतामा राख्ने रणनीति अपनाइएको जानकारी एसपी गिरीले दिए ।























