
विराटनगर । मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटल र विराटनगरको पारस मल्टिस्पेशालिटी हस्पिटलबीच क्यान्सर उपचारसहितका विशेषज्ञ सेवामा सहकार्य गर्ने सम्झौता भएको छ । बिहीबार आयोजित एक कार्यक्रममा दुवै अस्पतालका पदाधिकारीहरूले सम्झौतापत्रमा हस्ताक्षर गर्दै स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका हुन्।
सम्झौताअनुसार अब पारस हस्पिटलबाट रेफर भएका बिरामीहरूले विराट मेडिकल कलेजमा निःशुल्क ओपीडी सेवा पाउनेछन् भने अन्य उपचारमा विशेष छुटको व्यवस्था गरिएको छ । यो सुविधा पारसका बिरामी मात्र नभई त्यहाँका कर्मचारी र उनीहरूका परिवारले समेत उपभोग गर्न पाउनेछन् । विशेषगरी क्यान्सरको पूर्ण उपचारका लागि विराट क्यान्सर इन्स्टिच्युटसँगको यो सहकार्यले पूर्वी नेपालका बिरामीलाई ठूलो राहत पुग्ने विश्वास लिइएको छ ।
उपचार सेवाका अतिरिक्त दुवै अस्पतालले आफ्ना चिकित्सक तथा कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि संयुक्त तालिम र अभिमुखीकरण कार्यक्रमहरू समेत सञ्चालन गर्नेछन् । सम्झौतापत्रमा विराट मेडिकल कलेजका सीईओ डिनिश कार्की र पारस हस्पिटलका अध्यक्ष डा. सफिउर रहमानसहितका प्रतिनिधिहरूले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौताले बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच दिलाउने र विशिष्टीकृत उपचारका लागि बाहिर जानुपर्ने बाध्यतालाई कम गर्ने लक्ष्य राखेको छ । क्यान्सरको समयमै पहिचान र उपचारका लागि अब भारत वा अन्य मुलुक धाउनु नपर्ने भन्दै अस्पतालले थप जानकारीका लागि सम्पर्क नम्बर समेत सार्वजनिक गरेको छ ।



















