
विराटनगर । विराटनगरको आर्थिक र व्यापारिक गतिविधिमा नयाँ ऊर्जा भर्ने उद्देश्यका साथ मोरङ उद्योग व्यापार संघको आयोजनामा बुधबारदेखि ‘विराट ट्रेड एक्स्पो’ सुरु भएको छ ।
जेनजी आन्दोलनपछि सुस्ताएको आर्थिक गतिविधिलाई पुनः चलायमान बनाउने अपेक्षासहित एक्स्पो आयोजना गरिएको हो ।
विराटनगर–१, शान्ति चोकमा आयोजित अन्तर्राष्ट्रियस्तरको यस व्यापार मेलाको उद्घाटन अर्थमन्त्री रामेश्वर खनालले गरे । उनले संकटका बेला निजी क्षेत्र आफैं जुर्मुराएर अघि बढेको बताए ।
उद्घाटन समारोहमा बोल्दै मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने र नेपाली बजारलाई अन्तर्राष्ट्रिय स्तरसम्म जोड्ने मुख्य लक्ष्यका साथ एक्स्पोको सुरुवात गरिएको बताए ।
पुस १९ गतेसम्म सञ्चालन हुने यस मेलामा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका उत्पादनहरू प्रदर्शनीमा राखिएका छन् । एक्स्पोमा जम्मा २३० वटा स्टलहरू रहेका छन्, जसमा नेपालका साथै छिमेकी मुलुकहरू भारत, बंगलादेश र पाकिस्तानका उत्पादनहरू समेत समावेश छन् ।
प्रदर्शनीमा कृषिजन्य वस्तु, औद्योगिक सामग्री, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, पर्यटन र सेवा क्षेत्रसँग सम्बन्धित सामग्रीहरूको स्टल राखिएको छ ।
एक्स्पो अवधिभर विभिन्न विषयगत (थिमेटिक) सेसन पनि सञ्चालन गरिने आयोजकले जनाएको छ । जसमा स्टार्टअप, साना तथा मध्यम उद्यम , पर्यटन, सूचना प्रविधि, साइबर सुरक्षा, कर तथा लेखा प्रणाली र महिला उद्यमशीलता जस्ता महत्त्वपूर्ण विषयमा छलफल हुनेछ । मेला अवधिभर २ लाखभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने र करिब २५ देखि ३० करोड रुपैयाँसम्मको आर्थिक कारोबार हुने अपेक्षा राखिएको छ ।

























