मोरङका ७३ पत्रकारको स्वास्थ्य परीक्षण

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुष ११, शुक्रबार १८:५१
मोरङका ७३ पत्रकारको स्वास्थ्य परीक्षण

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले आयोजनाको गरेको स्वास्थ्य शिविरमा ७३ जना पत्रकारहरूले स्वास्थ्य परीक्षण गराएका छन् ।

विराट नर्सिङ होमको प्राविधिक सहयोगमा महासंघले मुटु, आँखा र कान सम्बन्धी स्वास्थ्य शिविर आयोजना गरेको हो । स्वास्थ्य परीक्षणका क्रममा पत्रकारहरूमा उच्च रक्तचाप, आँखाको समस्या बढी पाइएको चिकित्सकहरूले बताएका छन् ।

Advertisement

स्वास्थ्य शिविरमा ७ जना विशेषज्ञ चिकित्सकहरू सहित १४ जनाको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य सेवा दिएका थिए । स्वास्थ्य समस्या भएका पत्रकारहरूले ओपिडी कार्डसहित ७ दिनभित्र अस्पतालमा सम्पर्क राख्न भनिएको छ ।

स्वास्थ्य शिविर उद्‌घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमालले पत्रकारले नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने बताए ।

समस्या परेपछि मात्रै अस्पताल पुग्नुभन्दा पनि नियमित स्वास्थ्य परीक्षण गर्न उनको आग्रह छ । महासंघ केन्द्रीय समितिले पनि पत्रकारको स्वास्थ्य परीक्षण नियमित गर्ने गरिएको कार्यक्रमलाई प्राथमिकता दिएको बताए ।

विराट नर्सिङ होमका प्रमुख कार्यकारी अधिकृत (सीईयो) डा. निकिता कार्कीले समाचार संकलनमा दिनरात खटिने पत्रकारले स्वास्थ्यलाई प्राथमिकता दिन आग्रह गरे । स्वास्थ्य सुरक्षामा ध्यान दिन उनको सुझाव छ । पत्रकार महासंघसँग सहकार्य गरी पत्रकारको नियमित स्वास्थ्यमा सहयोग गर्न अस्पताल तयार रहेको र रक्तचापको परीक्षण दैनिक गर्न समेत उनले आग्रह गरे ।

नेपाल पत्रकार महासंघ मोरङका सल्लाहकार पूर्वअध्यक्ष बन्धु पोखरेलले स्वास्थ्य परीक्षणको कार्यक्रम नियमित गर्न सुझाव दिए । उनले आफ्नो कार्यकालदेखि मोरङमा पत्रकारको स्वास्थ्य उपचारमा अस्पतालहरूसँग सहकार्य सुरु भएको बताए ।

स्वास्थ्यसँगै शिक्षामा पनि प्याब्सन / हिसानसँग सहकार्य गर्न उनको सुझाव छ । नेपाल पत्रकार महासंघ मोरङ अध्यक्ष सुशीला पाठकले पत्रकारको स्वास्थ्यलाई केन्द्रित गरी स्वास्थ्य शिविरको आयोजना गरिएको बताइन् । महासंघले स्वास्थ्य परीक्षणका साथै स्वास्थ्य सम्बन्धी अभिमुखीकरणका कार्यक्रमहरू पनि नियमित गर्ने बताइन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.