‘टेरामक्स खरिद’ भ्रष्टाचारमा सर्वाेच्चका दुई आदेश मगाउने आदेश

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १३, आइतबार १७:४४

काठमाडौं । टेरामक्स खरिदमा भ्रष्टाचार भएको मुद्दामा विशेष अदालतले सर्वोच्च अदालतका दुई वटा आदेश मागेको छ ।

‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम’ टेरामक्स मुद्दामा आइतबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र हेमन्त रावलको इजलासले सम्बन्धित प्रतिवादीले दायर गरेको रिटको आदेश मागेको हो ।

यो मुद्दामा नेपाली कांग्रेसका पूर्वसांसद मोहनबहादुर बस्नेत पनि प्रतिवादी छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गर्दा भ्यानराइज सोलुसन्स साल (अफसोर) प्रालिलाई समेत प्रतिवादी बनाएको थियो ।

नेपाल दूरसञ्चार प्राधिकरणले २०७६ वैशाख २० गते टेरामक्स प्रणाली खरिद प्रक्रियालाई रद्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरूद्ध उक्त कम्पनीले त्यही साल जेठ २० गते सर्वोच्चमा रिट दायर गरेको थियो । उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले २०७८ वैशाख १४ गते आदेश भएको थियो ।

२०७८ वैशाख १४ गते न्यायाधीश चोलेन्द्र शम्शेर जबरा र कुमार चुडालको इजलासले रिट जारी गर्ने फैसला गरेको थियो । यही विषयसँग सम्बन्धित अर्को रिटको आदेश पनि झिकाउन आदेश गरेको छ । २०६९ भदौ २१ गते तारानाथ दाहाल समेतले दायर रिटको फैसला पनि झिकाउन आदेश गरेको हो ।

यी दुई वटा रिटको आदेशको प्रमाणित प्रतिलिपि सर्वोच्च अदालतबाट मगाउन आदेश गरेको हो । टेरामक्सको अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट नियुक्त गरेका टेलिकम्युनिकेसन विज्ञ केशव ज्ञवालीको पनि बकपत्र गराउन विशेष अदालतले आदेश गरेको हो ।

अख्तियारले गत जेठ १ गते टेरामक्स खरिद प्रकरणमा बस्नेतसहित १६ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनीहरूविरूद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.