
काठमाडौं । गुरुङ समुदायले आज (मंगलबार) परम्परागत र मौलिक उत्सवका रूपमा तमु ल्होसार पर्व भव्य रूपमा मनाउँदै छन् ।
पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षको स्वागत गर्ने यस पर्वलाई गुरुङ समुदायले आफ्नो सांस्कृतिक पहिचान, सामाजिक एकता र जीवनदर्शनसँग गाँसेर मनाउने गर्छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष परिवर्तन हुने दिनलाई तमु ल्होसार भनिएको हो । यही अर्थमा तमु ल्होसार गुरुङ समुदायका लागि नयाँ वर्षको सुरुआत पनि हो ।
तमु ल्होसार सूर्यको गति र प्रकृतिसँग जोडिएको पर्व मानिन्छ । गुरुङ समुदायको बाक्लो बसोबास रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा पुस महिनाबाट सूर्यको तापक्रम क्रमशः बढ्दै जाने विश्वास गरिन्छ ।
यही प्राकृतिक चक्रसँग जोडेर पुस १५ गते तमु ल्होसार मनाउने गरिन्छ । जानकारहरूका अनुसार पुस १५ गतेको रात वर्षकै सबैभन्दा लामो रात हुने र यसपछि दिन लम्बिँदै तथा रात छोटिँदै जाने भएकाले पनि यस दिनको विशेष महत्त्व रहेको छ । यसलाई अन्धकारबाट उज्यालोतर्फको यात्रा र नकारात्मकताबाट सकारात्मकतर्फको परिवर्तनको प्रतीकका रूपमा लिने गरिन्छ ।
गुरुङ समुदायमा तमु ल्होसार चाडपर्व मात्र नभएर सामाजिक, सांस्कृतिक र आध्यात्मिक महत्व बोकेको दिन पनि हो । यस अवसरमा घरघरमा विशेष परिकार बनाइन्छ, कुलदेवताको पूजा गरिन्छ र परिवार तथा आफन्तबीच शुभकामना आदान–प्रदान गरिन्छ । परम्परागत विश्वासअनुसार नयाँ वर्षको पहिलो दिन राम्रो कामको सुरुआत गरे वर्षभरि शुभफल प्राप्त हुने मान्यता छ ।
यसै प्राकृतिक चक्रअनुसार गुरुङ समुदायपछि तामाङ र शेर्पा समुदायले पनि आआफ्नो मौलिक परम्परा अनुसार ल्होसार मनाउने गर्छन् । तामाङ समुदायले माघमा सोनाम ल्होसार र शेर्पा समुदायले फागुनमा ग्याल्पो ल्होसार मनाउने परम्परा छ । यसरी ल्होसार पर्व विभिन्न समुदायमा समय फरक–फरक भए पनि यसको मूल भाव वर्ष परिवर्तन र नयाँ आशाको सुरुआत नै हो ।
तमु ल्होसारको अवसरमा मंगलबार सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । काठमाडौंको टुँडिखेलमा गुरुङ समुदायको विशेष कार्यक्रम आयोजना गरिएको छ । जहाँ देशका विभिन्न स्थानबाट आएका गुरुङ समुदायका व्यक्तिहरू परम्परागत एवं सांस्कृतिक भेषभूषामा सजिएर सहभागी हुन्छन् ।
कार्यक्रममा गुरुङ संस्कृतिसँग सम्बन्धित नृत्य, गीत, बाजागाजा र परम्परागत परिकारको प्रदर्शनीसमेत गरिन्छ । यस वर्षको तमु ल्होसारलाई अझ भव्य बनाउन आइतबारदेखि नै टुँडिखेलमा ल्होसार महोत्सव सुरु गरिएको थियो ।
महोत्सवमा देखिएको हजारौँ सर्वसाधारणको सहभागितासँगै गुरुङ समुदायको मौलिक संस्कृति, खानपान र जीवनशैली नजिकबाट बुझ्ने अवसर मिलिरहेको छ । सहभागीहरूका अनुसार यस्ता महोत्सवले चाडपर्वको रौनक बढाउने मात्र नभएर विभिन्न समुदायबीच सांस्कृतिक सहिष्णुता र आपसी सम्मानलाई समेत मजबुत बनाउँछ ।
परम्परा, प्रकृति र पहिचानलाई एकसाथ जोड्ने तमु ल्होसारलाई गुरुङ समुदायसँगै बहुजातीय र बहुसांस्कृतिक नेपाली समाजका लागि पनि सांस्कृतिक विविधताको सुन्दर उदाहरण मानिन्छ ।























