
विराटनगर । गुरुङ समुदायले परम्परागत र मौलिक उत्सवका रूपमा तमु ल्होसार पर्व भव्य रूपमा मनाएका छन् ।

पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षको स्वागत गर्ने यस पर्वलाई गुरुङ समुदायले आफ्नो सांस्कृतिक पहिचान, सामाजिक एकता र जीवनदर्शनसँग गाँसेर मनाउने गर्छन् । विराटनगरमा रहेका गुरुङ समुदायले विभिन्न कार्यक्रमको आयोजना गरेर ‘२६१० औँ तमु ल्होसार’ मनाएका छन् ।

यसै क्रममा नयाँ वर्षको रूपमा मनाउने तमु ल्होसार पर्वमा यस वर्ष सर्प वर्ग (सप्री ल्हो) लाई बिदाइ गर्दै घोडा वर्ग (त ल्हो) लाई स्वागत गर्दै विराटनगरमा शुभकामना आदानप्रदान गरी विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । ‘ल्हो’ को अर्थ वर्ष र ’सार’ को अर्थ फेरिनु भएकाले वर्ष परिवर्तन हुने दिनलाई तमु ल्होसार भनिएको हो ।

तमु ल्होसार सूर्यको गति र प्रकृतिसँग जोडिएकाले पुस १५ गते तमु ल्होसार मनाउने गरिन्छ । पुस १५ गतेको रात वर्षकै सबैभन्दा लामो रात हुने र यसपछि दिन लम्बिँदै तथा रात छोटिँदै जाने भएकाले पनि यस दिनको विशेष महत्त्व रहेको मानिन्छ ।

यसलाई अन्धकारबाट उज्यालोतर्फको यात्रा र नकारात्मकताबाट सकारात्मकतर्फको परिवर्तनको प्रतीकका रूपमा लिने गरिन्छ । गुरुङ समुदायमा १२ वटा जीवजन्तु (मुसा, गाई, बाघ, बिरालो, गिद्ध, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग)लाई आधार मानेर वर्ष गणना गर्ने प्रचलन छ ।

यस अवसरमा घरघरमा विशेष परिकार बनाइन्छ, कुल देवताको पूजा गरिन्छ र परिवार तथा आफन्तबिच शुभकामना आदानप्रदान गरिन्छ । परम्परागत विश्वासअनुसार नयाँ वर्षको पहिलो दिन राम्रो कामको सुरुआत गरे वर्षभरि शुभ फल प्राप्त हुने मान्यता छ ।

विराटनगर– ७ को हरियाली पार्कमा विराटनगर महानगरसहित आसपासका पालिकाबाट भेला भएका गुरुङ समुदायले नाचगान, मनोरञ्जन गर्नुका साथै ल्होसार पर्वको महत्वबारे चर्चा गरिएको थियो । तमु ल्होसारको अवसरमा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्, विराटनगर नगर इकाई समितिले पर्व विशेष गरी मनाउने क्रममा सद्भावपूर्ण सडक दौड, दीप प्रज्वलन, शुभकामना आदानप्रदानजस्ता कार्यक्रम आयोजना गरेको छ ।

यस प्रकारको कार्यक्रमले समुदायमा आपसी प्रेम, एकता र भ्रातृत्वको सन्देश प्रवाह गर्नुका साथै सांस्कृतिक रीतिथितिलाई पुस्तान्तरण गर्न समेत सघाउ पुग्ने बताइएको छ ।

























