
विराटनगर । कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी प्रदेश राजधानी विराटनगरमा आज (बुधबार) आयोजना गरिएको छ । गोष्ठीमा सहभागी हुन गृहमन्त्री ओमप्रकाश अर्याल मंगलबार नै विराटनगर आइसकेका छन् ।
गृहमन्त्रीसँगै मन्त्रालयका उच्च अधिकारी र सुरक्षा निकायका प्रमुखहरु पनि विराटनगर आइसकेका छन् । गोष्ठी बिहान ८ बजेबाट सुरु हुने छ । आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी प्रदेशको समग्र सुरक्षा अवस्था, चुनौती र तयारीबारे समीक्षा गर्न प्रदेशस्तरीय सुरक्षा गोष्ठी आयोजना गरिएको हो ।
गोष्ठीमा निर्वाचनलाई भयरहित, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गराउने विषयमा मुख्य रूपमा छलफल हुने जनाइएको छ । गोष्ठीको उद्घाटन गर्न १दिनअघि नै विराटनगर आएका गृहमन्त्री अर्यालले जेनजी आन्दोलनको आवरणमा आगजनी गरिएको मोरङ जिल्ला प्रशासन कार्यालय र विराटनगरस्थित आईसीपीको मंगलबार दिउँसो स्थलगत निरीक्षण गरेका छन् ।
त्यसैगरी उनी सुनसरीको चतराधाम पनि पुगेका छन् । प्रदेशस्तरीय सुरक्षा गोष्ठी पूर्ण रूपमा निर्वाचन केन्द्रित रहने सुरक्षा स्रोतले जनाएको छ । गोष्ठीमा गृह मन्त्रालयका प्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीहरू तथा कोशी प्रदेशका १४ वटै जिल्लाका सुरक्षा प्रमुखहरूको उपस्थिति रहनेछ ।
गोष्ठीका क्रममा प्रदेशभित्रका सुरक्षा प्रमुखहरूले आआफ्नो जिल्लाको सुरक्षा अवस्था, विद्यमान चुनौती, सीमा क्षेत्रको संवेदनशीलता र निर्वाचनका समयमा देखिन सक्ने सम्भावित जोखिमबारे विस्तृत ‘ब्रिफिङ’ गर्नेछन् । निर्वाचन घोषणापछिको विकसित सुरक्षा परिस्थिति, अवाञ्छित गतिविधि नियन्त्रणका उपाय र सुरक्षा संयन्त्रबीचको समन्वयलाई कसरी अझ प्रभावकारी बनाउने भन्ने विषयमा पनि छलफल हुने जनाइएको छ ।
गोष्ठीबाट निर्वाचन लक्षित प्रदेशस्तरीय सुरक्षा कार्ययोजना तयार पारिनेछ भने गृहमन्त्री अर्यालले सुरक्षा निकायलाई आवश्यक निर्देशन दिने कार्यक्रम रहेको छ । चुनावलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सबै सुरक्षा संयन्त्रलाई एकीकृत ढंगले परिचालन गर्ने विषयमा पनि स्पष्ट मार्गनिर्देशन दिइने गृह मन्त्रालय स्रोतले जनाएको छ ।

























