
काठमाडौं । नेपालमा १ वर्षको अवधिमा २ जना पत्रकार मारिएका छन् । सन् २०२५ मा पत्रकार सुरेश रजक र अजय गोर्खाली मारिएको नेपाल पत्रकार महासंघले जनाएको छ ।
महासंघका अनुसार २ जना पत्रकारको शंकास्पद मृत्यु र प्रेस स्वतन्त्रता हननका १ सय ३९ घटना भएका छन् । महासंघद्वारा जारी विज्ञप्तिमा सन् २०२४ भन्दा तुलनात्मक रुपमा सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका घटनामा तेब्बरले वृद्धि भएको उल्लेख छ ।
‘सन् २०२५ प्रेस स्वतन्त्रता हननका दृष्टिले निकै भयावह वर्ष रह्यो । नेपाल पत्रकार महासंघले गरेको अनुगमनमा सन् २०२५ मा प्रेस स्वतन्त्रता हननका १ सय ३९ घटना अभिलेख भएका छन् । जसबाट २ सय १८ जना पत्रकार तथा सञ्चारकर्मी र ३१ वटा सञ्चारगृह प्रत्यक्ष रुपमा प्रभावित भएका छन्,’ महासंघले भनेको छ । सन् २०२४ मा ६० र २०२३ मा ५८ वटा प्रेस स्वतन्त्रता हनन्का घटना भएको महासंघले जनाएको छ ।
गत मार्च २८ मा काठमाडौंको तीनकुनेमा भएको आन्दोलनको समाचार संकलनमा खटिएका एभिन्युजका पत्रकार सुरेश रजकको जलेर मृत्यु भयो । पत्रकार अजय गोर्खालीको मृत्यु र त्यसपछि सार्वजनिक भएका फोटो, भिडियो तथा प्रत्यक्षदर्शीको भनाइले उनको मृत्यु पनि रहस्यको घेराभित्र रहेको आशंका गर्न सकिने महासंघले उल्लेख गरेको छ ।
महासंघका अनुसार यो वर्ष सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचन गर्ने गरी केही कानुनी प्रबन्ध गर्न खोज्यो भने केही कानुनले संविधानप्रदत्त सञ्चारमाध्यम दर्ता र नवीकरण जस्ता हक केही अवधि निलम्बित भयो । सरकारले छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ मा संशोधन गरी कठोर प्रधान ल्यायो भने फेसबुकसहित नेपालमा चर्चित रहेका २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने अलोकतान्त्रिक निर्णय गर्यो ।
भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा २६ वटा प्रेस स्वतन्त्रता हननका घटना हुँदा १ सय भन्दा धेरै पत्रकार तथा सञ्चारगृह प्रत्यक्ष प्रभावित भए । हिंसात्मक जेनजी आन्दोलनमा सञ्चारगृहमा आगजनी, लुटपाट र तोडफोड भयो । उक्त घटनाबाट संस्थागततर्फ करिव ६० करोड रुपैयाँ बराबरको क्षति भएको र पत्रकार तथा सञ्चार उद्यमीको निजी सम्पत्तितर्फ १८ करोड रुपैयाँ बराबरको क्षति भएको महासंघले जनाएको छ ।
गोली लागेर ५ जना पत्रकार घाइते भएका थिए । सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल, नेपाल टेलिभिजन, कान्तिपुर पब्लिकेशन, अन्नपूर्ण पोस्ट, थाहा खबर, बुटवलस्थित रेडियो जागरण, इलाममा नेपालवाणी एफएम र इलाम एक्सप्रेस, चितवनमा विभिन्न सञ्चारगृह, सप्तरीमा महासंघ शाखा कार्यालयसहितका सञ्चारगृहमा आगजनी तथा लुटपाट गरिएको थियो ।
महासंघको विमतिबीच संघीय संसदमा विचाराधीन मिडिया काउन्सिल विधेयक, सामाजिक सञ्जाल सञ्चालन तथा नियमन विधेयक, सूचना प्रविधि ऐनलगायत विभिन्न सञ्चारसम्बन्धी विधेयक विभिन्न समितिहरूबाट अघि बढिरहेका बेलामा अकस्मात भएको जेनजी विद्रोह र त्यसपछिको राजनीतिक परिवर्तनले संघीय संसद् नै विघटन भयो । सरकारले ल्याएको छापाखाना तथा प्रकाशनसम्बन्धी नियमावलीमा कतिपय प्रावधान प्रेस स्वतन्त्रतामा असर पार्ने खालका देखिएको छ ।
समग्रमा यो वर्ष प्रेस स्वतन्त्रता उल्लंघनका घटनामा अधिक वृद्धिका साथै विभिन्न आन्दोलन, कानुन र नीति सुधारमा निष्क्रियता, पत्रकारितामा लोकप्रियतावादी राजनीतिको बढ्दो प्रभाव, पत्रकारविरुद्धको अपराधसम्बन्धी दण्डहीनताप्रतिको उदासीनता, सञ्चारमाध्यमको आर्थिक अवस्थामा झनझन गिरावट, पत्रकारको पेसागत र भौतिक सुरक्षामा जोखिमलगायतका कारणले प्रेस स्वतन्त्रता झनै चुनौतीपूर्ण बन्दै गएको महासंघको ठहर छ ।

























