
झापा । बिर्तामोडस्थित ‘एकका लागि एक अभियान’ले हालैको प्राकृतिक विपद्का समयमा मानवीय सहयोग पुर्याउने दाताहरूलाई सम्मान गर्ने भएको छ । अभियानले गत असोज १८ र १९ गतेको बाढी, डुबान तथा पहिरोबाट जनधनको क्षति व्यहोरेका पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन सहयोग गर्ने दाताहरूलाई सम्मान गर्न लागेको हो ।
पुस २० गते आइतबार बिर्तामोडको होटल हेभनमा आयोजना हुने विशेष समारोहका बीच उनीहरूलाई सम्मान गरिने अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए । कार्यक्रममा विपद्को बेला अग्रपंक्तिमा रहेर उद्धार र सहयोगमा खटिने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल रेडक्रस सोसाइटी झापालाई समेत सम्मान गरिने भएको छ ।
झापामा कार्यरत रहँदा विपद् व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका तत्कालीन प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीलाई पनि विशेष सम्मान प्रदान गरिने अभियानले जनाएको छ । अधिकारी हाल काभ्रेपलान्चोक जिल्लाको प्रजिअका रूपमा कार्यरत छन् ।
बुधबार बिर्तामोडमा सम्पन्न अभियानको बैठकले सहयोग दातालाई सम्मान गर्नुका साथै अभियानको आम्दानी-खर्चको हिसाबसमेत सार्वजनिक गर्ने निर्णय गरेको छ । अभियानको समन्वय र जिल्ला विपद् व्यवस्थापन समिति झापाको सहकार्यमा झापाका विभिन्न पालिका र इलामका गरी २ हजारभन्दा बढी परिवारलाई प्रतिपरिवार ३ हजार रुपैयाँभन्दा बढीको राहत प्याकेज वितरण गरिएको थियो ।























