
इलाम । इलामको माइजोगमाई–४ स्थित माई र जोगमाई खोलाको दोभानमा लाग्ने ऐतिहासिक तथा धार्मिक महत्त्वको ‘माइबेनी मेला’ यो वर्ष पनि भव्य रूपमा आयोजना गरिने भएको छ। प्रत्येक वर्ष माघे संक्रान्तिको अवसरमा लाग्ने यस मेलाको तयारीका लागि सनमान लिम्बूको अध्यक्षतामा २१ सदस्यीय आयोजक मूल समिति गठन गरिएको छ।
समितिको उपाध्यक्षमा भीमराज लिम्बू, सचिवमा देव विष्ट, सह-सचिवमा चुडामणि गुरुङ र कोषाध्यक्षमा उज्वल देवान चयन भएका छन्। सदस्यहरूमा अमित लिम्बू, अमित राई, सन्तोष लिम्बू, विराज देवानसहित २१ जना छन्। सुगौली सन्धिभन्दा अघिदेखि नै लाग्दै आएको यो मेला धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ।
माइबेनीमा मकर स्नान गर्ने, भाकल पूरा गर्ने तथा शिवालय धामको दर्शन गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ। मेला भर्न नेपालका झापा, मोरङ, इलाम, पाँचथर, ताप्लेजुङका साथै छिमेकी देश भारतको दार्जिलिङ, मिरिक, सिक्किम र भुटानबाट समेत ठूलो संख्यामा दर्शनार्थीहरू आउने गर्छन्।
गत वर्ष मेलाबाट संकलित रकम र स्थानीयको श्रमदानबाट यलम्बर पार्क निर्माण तथा शिवालय मन्दिरको रंगरोगन गरिएको थियो। आयोजक समितिका सदस्य अमित राईका अनुसार यो वर्ष पनि मेलाबाट संकलन हुने रकम माइबेनी परिसरकै पूर्वाधार विकास र सामाजिक कार्यमा खर्चिने योजना छ।
मेलामा बालबालिकाका लागि रोटेपिङ लगायतका मनोरञ्जनात्मक खेलहरू सञ्चालन गरिनेछ। मेलाको मुख्य आकर्षणका रूपमा नामसालिङको सुन्तला र उखुको विशेष व्यापार हुने गर्दछ। व्यापारका लागि झापा, इलाम र भारतका विभिन्न स्थानबाट व्यापारीहरू माइबेनी पुग्ने गर्छन्। खोलामा स्नान गरी कन्दमूल र सेलरोटी जस्ता परिकार खाने परम्पराले मेलालाई थप मौलिक बनाउने गर्दछ।

























