
विराटनगर । पूर्वराजा ज्ञानेन्द्र शाह शनिबार विराटनगरको काली मन्दिर पुगेका छन् । प्रसिद्ध काली मन्दिरमा पुगेर उनले विधिपूर्वक पूजाअर्चना गरेका छन् ।
केही दिनदेखि झापाको दमकमा रहेका शाह बिहानै विशेष सवारीमार्फत मन्दिर पुगेका थिए । मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष मीनाक्षी नेपाल लगायत पदाधिकारीहरूले पूर्वराजालाई स्वागत गरेका थिए ।
मन्दिर परिसरमा उनका समर्थक र सर्वसाधारणको भिड बाक्लो रहेको थियो । त्यहाँ उपस्थित भएकाहरुले ‘जय श्री राम’ र ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ जस्ता नाराहरू लगाउँदै आफ्नो उत्साह देखाएका थिए ।
पूर्वराजाले करिब आधा घण्टा मन्दिरमा बिताउँदै आरतीमा सहभागी भई टीका र प्रसाद ग्रहण गरेका छन् । पूजाअर्चना सकेपछि उनले मन्दिरको व्यवस्थापन र वर्तमान अवस्थाबारे समिति अध्यक्षसँग संक्षिप्त कुराकानी पनि गरेका थिए ।
दर्शन पश्चात् पूर्वराजा इटहरी हुँदै पुनः दमक फर्किएको सुरक्षा स्रोतले बतायो । समर्थकहरूले भ्रमणका क्रममा उनलाई उत्साहका साथ स्वागत गरेका छन् । पूर्वराजाको भ्रमणका क्रममा मन्दिर वरपर सुरक्षा व्यवस्था कडा पारिएको थियो ।























