
काठमाडौं । देशभर अहिले पश्चिमी वायुको प्रभाव कायम रहँदा मौसममा चिसोपन बढेको छ । देशमा पश्चिमी वायु र चिसोको दोहोरो असर परेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (आइतबार) बिहान पहाडी र हिमाली भू–भागमा आंशिक बदली देखिएको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरोले जनजीवन प्रभावित बनाएको छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका १–२ स्थानमा आइतबार हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । दिउँसो र राति तराई भू–भागमा हुस्सु लाग्ने सम्भावना रहेकाले हवाई तथा सडक यातायातमा आंशिक असर पर्न सक्ने देखिएको छ ।
यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यधिक चिसोका कारण स्वास्थ्य जोखिम बढ्न सक्ने भन्दै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार चिसोका कारण रुघाखोकी, ज्वरो, दम बढ्ने, सास फेर्न गाह्रो हुने तथा हाइपोथर्मियाजस्ता समस्या देखिन थालेका छन् ।
विशेषगरी बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा र दीर्घरोगी बढी जोखिममा रहने भएकाले न्यानो लुगा लगाउन, धुवाँधुलोबाट जोगिन, पोषणयुक्त खाना खान र आवश्यक परे नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न मन्त्रालयले अनुरोध गरेको छ । चिसो र हुस्सुको संयुक्त प्रभावले जनजीवन, पर्यटन र स्वास्थ्य क्षेत्रमा असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैलाई सचेत गराइएको छ ।

























