खोटाङका केशरबहादुरले ७० वर्षमा पाए नागरिकता 

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुष २१, सोमबार १०:१६
खोटाङका केशरबहादुरले ७० वर्षमा पाए नागरिकता 

विराटनगर । खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यान डाँडाका एक जनाले वृद्ध अवस्थामा आएर नागरिकता लिएका छन् ।

साकेला गाउँपालिका–१ बाँझेच्यान डाँडामा वि.सं. २०१३ फागुन ७ गते जन्मिएका केशरबहादुर बुढाथोकीले नागरिकताको प्रमाणपत्र लिएका हुन् । बुढाथोकीले ७ दशकमा पहिलो पटक जिल्ला प्रशासन कार्यालयबाट आइतबार नागरिकताको प्रमाणपत्र लिए ।

उनी १४ वर्षको उमेरमै गाउँ छाडेर भारत गएको र हालसम्म नागरिकता नचाहिएको हुँदा लिन नआएको बताएका छन् । अहिले आएर आफूलाई भन्दा पनि बच्चालाई नागरिकता चाहिने भएको हुँदा लिएको सुनाए । आफूसँग नेपाली नागरिकताको प्रमाणपत्र नहुँदा छोरीहरू शिक्षा, स्वास्थ्य र रोजगारीबाट वञ्चित हुनु परेकाले ढिलै भए पनि नागरिकता लिएको बुढाथोकीले बताए ।

उनले भने, ‘म १४ वर्षको हुँदा साथीहरूसँग भागेर रोजगारीका लागि भारत गएँ । उताबाट फर्किएपछि कञ्चनपुरमा आएर मजदुरीको काम थलो । त्यहीँकी लीला भट्टसँग विवाह भयो र हाम्रो २२ र ८ वर्षीया २ जना छोरी भए । जेठी छोरी कक्षा–१२ मा पढ्दै छिन् । अहिले उनलाई मेरो नागरिकता चाहिने भएपछि नागरिकता लिन आएको हुँ ।’

म मात्रै गाउँ घर छाडेर भारत गएको र मेरो अरू परिवारहरू गाउँमै बस्ने गरेको बताउँदै, उनले भने, ‘म पढेलेखेको छैन । नागरिकता चाहिन्छ भन्ने थाहा नभएर नलिएको हुँ । अहिले आएर छोरीलाई नागरिकता बिना समस्या भएपछि लिएको हुँ । नेपाली नागरिकताको प्रमाणपत्र पाएपछि श्रीमतीको विवाह दर्ता र छोरीहरूको जन्म दर्ता गर्ने छु ।’ विवाहपछि ससुरालीले दिएको जग्गामा घर बनाएर कञ्चनपुरमै बस्दै आएका केशरबहादुरकी कान्छी छोरी कक्षा–३ मा अध्ययनरत छन् ।

उनका जेठा दाजु मदनबहादुर बुढाथोकीले जिल्ला प्रशासन कार्यालयमा गएर सनाखत गरेपछि प्रशासनले नागरिकता दिएको हो

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.