
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिटमा सुनुवाइका लागि आज (सोमबार) पेसी तोकेको छ। न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा यो मुद्दाको सुनुवाइ हुने तय भएको हो।
रामेछापका ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकी सहित २४ जना द्वन्द्वपीडितहरूले २०७९ फागुन २३ गते यो रिट दर्ता गराएका थिए। निवेदकहरूले प्रचण्डले २०७६ माघ १ गते काठमाडौँमा आयोजित एक कार्यक्रममा सशस्त्र द्वन्द्वका क्रममा मारिएका १७ हजारमध्ये ५ हजारको जिम्मेवारी आफूले लिने भनी दिएको सार्वजनिक अभिव्यक्तिका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान गर्न माग गरेका छन्।
सुरुमा सर्वोच्च प्रशासनले यो मुद्दा ‘संक्रमणकालीन न्याय’ सँग सम्बन्धित भएको भन्दै दर्ता गर्न अस्वीकार गरेको थियो। तर पछि सर्वोच्चको आदेशपछि मात्र रिट दर्ता भएको हो। पीडितहरूले आफ्नो परिवारका सदस्यहरूको हत्यामा प्रचण्डको नैतिक र प्रत्यक्ष जिम्मेवारी रहेको दाबी गर्दै फौजदारी कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउन माग गरेका छन्।
यस मुद्दाको सुनुवाइले नेपालको शान्ति प्रक्रिया र द्वन्द्वकालीन मुद्दाहरूको निरुपणमा दूरगामी प्रभाव पार्ने देखिएको छ। आजको इजलासले गर्ने आदेश वा फैसलामा सबैको चासो केन्द्रित रहेको छ।

























