
काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सरकारले ‘निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति र परिचालनसम्बन्धी मापदण्ड–२०८२’ स्वीकृत गरेको छ ।
सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना गर्ने निर्णय गरिएको हो ।
गृह मन्त्रालयका अनुसार स्वीकृत मापदण्डअनुसार निर्वाचन प्रहरीलाई १० दिन तालिम दिइनेछ भने ३० दिनसम्म कार्यस्थलमा खटाइने छ । कूल संख्यामध्ये नेपाल प्रहरी मातहत १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी बल (एपीएफ) मातहत १५ हजार १ सय १० जना परिचालन गरिने छ ।
भर्ना हुने म्यादी प्रहरीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानले पाउने आधारभूत तलबमानअनुसार तलब, पोसाकलगायतका सेवा सुविधा उपलब्ध गराइने गृह मन्त्रालयले जनाएको छ । रासन सुविधा भने सम्बन्धित जिल्लाको दर रेट अनुसार प्रदान गरिने छ ।
रासन, मासिक तलब र पोसाकबापतको खर्च सम्बन्धित व्यक्तिको बैंक खातामै भुक्तानी गरिने छ । म्यादी प्रहरी छनोटपछि आउने–जाने तयारी खर्च बापत प्रतिव्यक्ति ८ सय ४६ रुपैयाँ र ४ दिनको खाजा खर्च एकमुष्ट १ हजार २ सय रुपैयाँ उपलब्ध गराइने छ ।
पोसाक भत्ता हिमाल, पहाड र तराई / मधेस क्षेत्रअनुसार फरक हुनेछ । नेपाल प्रहरी मातहत खटिने म्यादीका लागि नीलो डांग्री कपडा र टोपी अनिवार्य हुनेछ भने सशस्त्र प्रहरी मातहत खटिनेको हकमा सशस्त्र प्रहरीको पोसाकसँग मिल्दोजुल्दो कपडा र टोपी व्यवस्था गरिने छ ।
यसैगरी, निर्वाचनमा नियमित सुरक्षाअन्तर्गत खटिने सुरक्षाकर्मीलाई पनि निर्वाचन प्रहरीलाई सरह १ हजार २ सय रुपैयाँ खाजा खर्च उपलब्ध गराइने मापदण्डमा उल्लेख गरिएको छ ।























