
जनकपुरधाम । दुई धार्मिक समुदायबीचको तनावपछि वीरगन्जमा लगाइएको कर्फ्यु आदेश मंगलबार अपराह्न ३:३० बजेदेखि पूर्ण रूपमा हटाइएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार मंगलबार भएको सर्वपक्षीय पाँच बुँदे सहमति र सुरक्षा अवस्था सुदृढ हुँदै गएपछि कर्फ्यु हटाउने निर्णय गरिएको हो।
यसअघि स्थानीय प्रशासनले शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै आज साँझ ६ बजेसम्मका लागि कर्फ्युको समय थप गरेको थियो। नागरिकको स्वतन्त्र आवागमन, व्यापार व्यवसाय र जनजीवन सहज बनाउनका लागि निर्धारित समयभन्दा अगावै कर्फ्यु हटाइएको प्रशासनले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी दाहालद्वारा जारी सूचनामा सर्वदलीय र सर्वपक्षीय बैठकको सहमति बमोजिम जिल्लाको सुरक्षा व्यवस्था सामान्य बन्दै गएकाले निषेधाज्ञाको आदेश फिर्ता लिइएको उल्लेख छ। कर्फ्यु हटेसँगै वीरगन्जको जनजीवन बिस्तारै सामान्य लयमा फर्कने अपेक्षा गरिएको छ।

























