डाक्टरले चल्न दिँदैनन् कोशीमा एनआईसीयू, अढाई करोडको उपकरणमा माकुराको जालो

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भाद्र ६, बिहीबार १३:२९

विराटनगर । सुनसरीका विजयकुमार झाले प्रसूतिका लागि बुहारीलाई विराटनगरको कोशी अस्पताल ल्याए । तर, पेटभित्र बच्चा असामान्य अवस्थामा रहेकाले जन्मिएपछि समस्या हुनसक्ने र एनआईसीयूमा राख्नुपर्ने हुनसक्छ भन्दै चिकित्सकले प्रसूति गराउन मानेनन् । १ दिनपछि नोबेल शिक्षण अस्पताल रेफर गरिदिए ।

‘जन्मिएपछि बच्चालाई एनआईसीयूमा राख्नुपर्ने हुनसक्छ । यहाँ एनआईसीय छैन । नोबेल लैजानुस् भनेर चिकित्सकले भने,’ झा भन्छन्, ‘उपचार सहज हुन्छ भनेर बुहारीलाई सरकारी अस्पताल ल्याइयो । तर, प्रसूति गराउनै मानेनन् । एनआईसीयू नभएको बहाना बनाएर बाहिर पठाइदिए ।’ कोशीका चिकित्सकले बिरामीलाई पूरै बेवास्ता गरेको गुनासो उनको छ ।
…

उदयपुरको गाईघाटका मोहनबहादुर राउतले एनआईसीयूमा राख्नुपर्ने भएपछि केही दिनअघि जन्मिएका नातिलाई कोशी ल्याए । तर, त्यहाँ एनआईसीयू नै थिएन । ‘एनआईसीयूको सेवा नभएको भन्दै अस्पतालले भर्ना लिएन । नातिलाई कहाँ राखौं र कसो गरौं भनेर तनाव भयो,’ उनी भन्छन्, ‘निजी अस्पतालमा १ दिनको २० देखि २२ हजार रूपैयाँसम्म खर्च हुने रहेछ । त्यहाँमाथि चिकित्सकले कम्तीमा ९ दिन एनआईसीयूमा राख्नुपर्छ भनेका थिए ।’

राउतले त्यत्रो पैसा खर्च गरेर नातिको उपचार गराउने अवस्था आफ्नो नभएको गुनासो गरे । कोशीमा एनआईसीयू भएको भए उनले नातिको निःशुल्क उपचार गराउन पाउने थिए । पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले अर्काको बनीबुतो गरेर जीविकोपार्जन गर्दै आएका उनले पैसा अभावमा नातिको उपचार गराउन नपाएको दुःखेसो पोखे ।
…

कोशीमा एनआईसीयूको सेवा नपाउने झा र राउत मात्रै हैनन् । एनआईसीयू आवश्यक पर्ने शिशु लिएर दैनिक ५/७ जनासम्म आउँछन् । तर, कसैले पनि सेवा पाउँदैनन् । कोशी प्रदेशकै सबैभन्दा ठूलो सरकारी स्वास्थ्य संस्था कोशी अस्पतालमा शिशुको उपचार गराउने एनआईसीयू सञ्चालन नहुन् दुःखद् हो ।

जन्मिएको २८ दिनभित्र स्वास्थ्यमा समस्या आए शिशुलाई एनआईसीयूमा राखेर उपचार गर्नुपर्ने चिकित्सक बताउँछन् । सरकारी अस्पतालको एनआईसीयूमा शिशुको उपचार गराउँदा पैसा लाग्दैन । नवजात शिशु कार्यक्रमअन्तर्गत सरकारले निःशुल्क उपचारको व्यवस्था मिलाएको छ ।

उपचारबापत लाग्ने पैसा सरकारले अस्पताललाई उपलब्ध गराउँछ । तर, कोशीमा एनआईसीयू सञ्चालनमै छैन । चल्न नदिन डाक्टरकै समूह सक्रिय छ ।

‘कोशी अस्पतालमा एनआईसीयू हुँदा निःशुल्क उपचार गर्नुपर्छ । त्यहाँ एनआईसीयू चल्न नदिएर शिशुलाई निजीमा पुर्याउँदा चिकित्सकलाई राम्रो आम्दानी हुन्छ । आम्दानी गुम्ने डरले चिकित्सकले नै कोशीमा एनआईसीयू चल्न दिँदैनन् ।’

एनआईसीयू चलाउन बच्चा विभागले चासो दिनुपर्ने कर्मचारी बताउँछन् । त्यहाँका चिकित्सक विभिन्न निजी क्लिनिक र अस्पतालमा काम गर्छन् । संघीय सरकार मातहतको कोशीमा एनआईसीयू सञ्चालन भएमा निजीबाट हुने आम्दानी गुम्ने डर रहेकाले सरकारी अस्पतालमा एनआइसीयू चलाउन नमानेका हुन् ।

‘कोशीमा एनआईसीयू हुँदा निःशुल्क उपचार गर्नुपर्छ । निजीमा पुर्याउँदा चिकित्सकलाई राम्रो आम्दानी हुन्छ,’ अस्पतालका एक कर्मचारीले भने, ‘त्यही भएर बालरोग विशेषज्ञहरु कोशीको एनआईसीयू सञ्चालनमा बाधक बनिरहेका छन् । एनआईसीयू चल्न नदिन गिरोह नै सक्रिय छ ।’

‘बिचौलिया र स्वार्थ समूहसँगको मिलेमतोकै कारण अस्पताल विकास समिति र प्रशासनले एनआईसीयू सञ्चालनमा चासो दिएको छैन । कोशीमा एनआईसीयू चल्न नदिनेमध्ये एक हुन्, बच्चा विभागका प्रमुख डा. रामनारायण चौधरी । डा. चौधरी निजी स्वास्थ्य संस्थामा पनि काम गर्छन् ।’

बिचौलिया र स्वार्थ समूहसँगको मिलेमतोकै कारण अस्पताल विकास समिति र प्रशासनले पनि सञ्चालनमा चासो दिएको छैन । कोशीमा एनआईसीयू चल्न नदिनेमध्ये एक हुन् बच्चा विभागका प्रमुख डा. रामनारायण चौधरी । डा. चौधरी निजी स्वास्थ्य संस्थामा काम गर्छन् । यस विषयमा उनले कुरै गर्न चाहेनन् । ‘अस्पतालमै भेटौं न । अनि कुरा गर्छु,’ टेलिफोनमा उनले भने, ‘मलाई अहिले कुरा गर्ने समय छैन । यो विषयमा म केही बोल्दिन ।’

महेश भट्टराई नेतृत्वको अस्पताल विकास समितिले १ वर्षअघि नै ५ बेडको एनआईसीयू सञ्चालनको तयारी गरेको थियो । विस्तार गरेर पछि १० बेडको बनाउने योजना थियो । २०८० असारमा उक्त समितिको कार्यकाल सकिएपछि त्यो कुरा त्यत्तिकै सेलायो । त्यसपछि लाखौंका उपकरण प्रयोगविहीन छन् । भट्टराई नेतृत्वको समितिले स्वास्थ्य मन्त्रालयसँग स्वास्थ्यकर्मी र चिकित्सकको दरबन्दी माग गर्दै एनआईसीयू सञ्चालनको प्रक्रिया अघि बढाएको थियो ।

एनआईसीयू सञ्चालनका लागि करिब १० लाख रूपैयाँ खर्च गरेर कोठा मर्मत गरिएको थियो । ‘उपकरणहरु सबै व्यवस्थापन गरेर कोठा मर्मत गरियो । प्राविधिक र विज्ञमार्फत उपकरण जडान गरेर एनआईसीयू सञ्चालन गर्न मात्रै बाँकी थियो,’ विकास समितिका पूर्वसदस्य मुकेश बुढाथोकी भन्छन्, ‘कार्यकाल सकिएका कारण हामीले त्यो काम गर्न भ्याएनौं । अहिले के हुँदैछ थाहा छैन ।’

अस्पतालबाट भट्टराई नेतृत्वको समिति बिदा भएपछि डा. फरवार्ड सिलवालको नेतृत्वमा नयाँ विकास समिति आयो । समितिले गोविन्द मिश्रलाई बायोमेडिकल इन्जिनियर नियुक्त गर्यो । तर, चिकित्सक र स्टाफ नर्सको अभाव देखाउँदै १ वर्षसम्म एनआईसीयू भने सञ्चालनमा ल्याइएको छैन ।

अढाई करोडको उपकरण बेवारिसे

एनआईसीयू सञ्चालन नहुँदा अढाई करोड बढीका उपकरण बेवारिसे बनेका छन् । एनआईसीयू कक्ष सञ्चालन गर्ने भनिएको कोठामा ताल्चा लगाएर राखिएका उपकरण माकुराको जालोले ढाकेको छ ।

लुथरन समाज सन्थाल ग्रुपले ४८ लाख बराबरका भेन्टिलेटरका सामान उपलब्ध गराएको थियो । एनआईसीयू बेड, भेन्टिलेटर, सिरिन्ज पम्प, फोटोथेरापी मेसिनलगायतका उपकरण माकुराको जालो र खियाले ढाकेको देख्न सकिन्छ ।

‘डाक्टरले नै कोशी अस्पतालमा एनआईसीयू चल्नै दिँदैनन् । चलाउन खोज्दा यो वा त्यो बहानामा अवरोध गर्छन् । एनआईसीयू नहुँदा गरिब र विपन्न वर्गका शिशुलाई महँगो मूल्य तिरेर उपचार गराउन सर्वसाधारण बाध्य छन् ।’

प्रयोगमा नआउँदा मेसिनरी औजार बिग्रिने अवस्थामा पुगेका छन् । सबै तयारी हुँदा पनि अस्पताल प्रशासन र विकास समितिले दक्ष जनशक्तिको अभाव देखाउँदै एनआईसीयू सञ्चालनमा आनाकानी गरिरहेका छन् । डाक्टरको समूह चल्नै नदिन लागेको छ । चलाउन खोज्दा यो वा त्यो बहानामा उनीहरुले नै अवरोध गर्ने गरेको एक कर्मचारीले बताए ।

कोशीमा एनआईसीयू नहुँदा गरिब र विपन्न वर्गका शिशुलाई महँगो मूल्य तिरेर उपचार गराउन सर्वसाधारण बाध्य रहेको उपभोक्ता अधिकारकर्मी उत्तम ढुंगेलले बताए । ‘भौतिक संरचनादेखि उपकरण सबै तयारी अवस्थामा हुँदा पनि एनआईसीयू सञ्चालन नगर्नु दुःखद् हो । कोशीमा बिचौलिया र स्वार्थ समूहको जगजगी छ,’ उनले भने, ‘बिचौलियाको सञ्जाल तोड्न नसके अस्पताल सकिन्छ । अस्पतालभित्रकाले नै बिचौलियाको काम गरिरहेका छन् ।’

विकास समिति र अस्पताल प्रशासनले बिचौलियासँग मिलेर एनआईसीयू सञ्चालन नगरेको ढुंगेल बताउँछन् । ‘कोशी अस्पतालमै मेसु (मेडिकल सुपरिटेन्डेन्ट) भइसकेका डा. रोशन पोखरेल अहिले स्वास्थ्य मन्त्रालयको सचिव छन् । मेसु भइसकेर मन्त्रालय र स्वास्थ्य सेवा विभागमा पुगेका धेरै जना अस्पतालको दुरवस्थाका बारेमा जानकार छन् । तर, ठाउँमा पुगेर पनि उनीहरुले अस्पताललाई सुधार्न चाहेनन्,’ ढुंगेल भन्छन् ।

उनका अनुसार दलका नेता, विकास समिति, कर्मचारी र चिकित्सकले अस्पताललाई दुहुनो गाईजस्तो बनाएका छन् । ‘अस्पतालमा ३२ देखि ४० बेडको आईसीयू सञ्चालन गर्न सकिन्छ । तर, उपकरण सबै थुपारेर राखिएको छ,’ उनले भने ‘सुधार गरेर सरकारी अस्पताललाई व्यवस्थित गर्नेतर्फ उनीहरु लागेकै छैनन् । बरु अस्पतालभित्र बसेर बिचौलियाको काम गरिरहेका छन् ।’

एनआईसीयू चल्न नदिन जनशक्ति अभावलगायतका अनेक बहानाबाजी डाक्टरले गर्छन् । स्वार्थपूर्ण हिसाबले काम गरिरहेको विकास समिति विभिन्न विवाद र अनियमिततामा मुछिएको छ । अति आवश्यकीय सेवा सञ्चालनमा बेवास्ता गरिरहेको छ । सरकारी अस्पताल धराशायी र अस्तव्यस्त बन्दै गएसँगै बिरामीले सहज उपचार पाउन छाडेका छन् ।

कोशीका निमित्त मेसु डा. रविनराज सिंहले अस्पतालसँग १० देखि १२ बेडको एनआईसीयू चलाउने क्षमता रहेको बताए । तर, दक्ष जनशक्ति अभाव रहेका कारण सेवा सञ्चालन गर्न नसकिएको उनको जिकिर छ । ‘संरचना र उपकरण तयारी अवस्थामा छ । तर, जनशक्ति छैनन्,’ डा. सिंहले भने ।

अस्पतालको मेडिकल रेकर्ड अधिकृत गोविन्द कटुवालका अनुसार कोशीमा दैनिक २५ देखि ३० जनासम्म बच्चा जन्मन्छन् । दैनिक १ सय ५० जनासम्म गर्भवतीहरु चेकजाँचका लागि आउने उनले बताए ।

तपाइको प्रतिक्रिया
कांग्रेस केन्द्रीय युवा सदस्यमा विराटनगरकी रक्षा यादवको उम्मेदवारी
कांग्रेस केन्द्रीय युवा सदस्यमा विराटनगरकी रक्षा यादवको उम्मेदवारी दर्ता 
चाडपर्वमा यातायात सहज बनाउन सात निर्णय, असोज २३ देखि अग्रिम टिकट बुकिङ
चाडपर्वमा यातायात सहज बनाउन सात निर्णय, असोज २३ देखि अग्रिम टिकट बुकिङ
वरिष्ठता मिचेर सर्वोच्चमा न्यायाधीश सिफारिस, वरिष्ठतम न्यायाधीशसहित दुई सदस्यको फरक मत
 टोकियोमा लेखक अर्याल सम्मानित
टोकियोमा लेखक अर्याल सम्मानित
चाडपर्वमा सुरक्षा व्यवस्था कडा बनाउन डीआईजी खनालको निर्देशन
दसैंको टीका कात्तिक ४ गते, बिहान १०ः२६ बजे उत्तम साइत
कांग्रेस सभापतिमा गगनको उम्मेदवारी
नागरिक सुरक्षामा प्रहरी सेवा थप प्रभावकारी बनाउने डीआईजी खनालको प्रतिबद्धता
एमालेमा सार्वजनिक असहमति रोक्ने ओलीको कडा सन्देश, नेतृत्व हस्तान्तरणमा भने ‘हतार नगर्न’ जोड
सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस, बागचन्दको लामो प्रतीक्षाको अन्त्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×