एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा एरिका र रोहित वर्ष खेलाडी

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २९, शनिबार ०९:३२

काठमाडौं । करातेकी एरिका गुरुङ र क्रिकेटका रोहितकुमार पौडेल एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० को वर्ष खेलाडी घोषित भएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आयोजना गरेको कार्यक्रममा एरिका महिला मा र रोहित पुरुषमा वर्ष उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न अवार्डमा १९ औं एसियाली खेलकुदमा रजत पदक विजेता एरिकाले फुटबलकी साबित्रा भण्डारी, क्रिकेटकी रुबिना क्षेत्री, एथलेटिक्स सन्तोषी श्रेष्ठ र कबड्डी मेनुका राजवंशीपछि पारिन् ।

पुरुष क्रिकेटका रोहितले क्रिकेटकै दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, करातेका मोहम्मद सेखु आलम, फुटबलका अनन्त तामाङ र गल्फका सुवास तामाङलाई पछि पारेका हुन् । गत संस्करण शीर्ष तीनको मनोनयनबाट विजेता घोषणा भएको थियो ।

यसपल्ट भने शीर्ष पाँच नै मनोनयन समावेश गरिएको हो । एरिकालाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले अवार्ड प्रदान गरे । वर्ष उत्कृष्ट खेलाडीद्वय एरिका र रोहितले पल्सर एनएस २ सय सिसि मोटरबाइक पाए । भलिबलकी कविता भट्टले पिपुल्स च्वाइसको अवार्ड जितिन् ।

ईसेवाको भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा कविता विजेता भएकी हुन् । कविताले सर्वाधिक ५६ प्रतिशत मत प्राप्त गरिन् । यस अवार्डको मनोनयनमा कबड्डीकी मानमती बिष्ट, फुटबलकी प्रीति राई, रग्बीका श्रीराम श्रेष्ठ र क्रिकेटका गुलसन झा थिए ।

पिपल्स च्वाइस विजेता कविताले पल्सर एनएस ४ सय सिसि मोटर बाइक जितिन् । उनलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अवार्ड प्रदान गरे । वर्ष उत्कृष्ट प्रशिक्षक करातेका कुशल श्रेष्ठले पल्सर एनएस २ सय सिसि मोटर बाइक पाए । उनलाई प्लाजा ग्रुप अप होटलका प्रबन्ध निर्देशक युवराज श्रेष्ठले अवार्ड प्रदान गरे ।

प्रशिक्षक कुशलले कविराज नेगी लामा (पारा तेक्वान्दो), कुशल श्रेष्ठ (कराते), मोन्टी देसाई (क्रिकेट), पार्वती राई (कबड्डी) र सञ्जय मर्हजन (भारोत्तोलन) लाई पछि पारे ।
युवा वर्ष खेलाडी भारोत्तोलनका हेमन्त पाल अवार्डसँगै पल्सर एनएस २०० मोटरसाइकल पुरस्कार पाए । उनलाई बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले अवार्ड प्रदान गरे ।

हेमन्तले अर्जुन कुमाल (क्रिकेट), हेमन्तपाल (भारोत्तोलन), प्रीति राई (फुटबल), सुजन गडाल (टेबलटेनिस) र सुनिरा थापा (टेनिस) लाई पछि पारे ।

एनएसजेएफ पारा एथ्लिट अवार्डबाट पलेशा गोवर्धन सम्मानित भइन् । पलेशालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङले अवार्ड प्रदान गरे ।
लाइफ टाइम एचिभमेन्ट अवार्ड नेपाल क्रिकेट संघ (क्यान) पूर्वअध्यक्ष विनयराज पाण्डेले प्राप्त गरे ।

पाण्डेलाई नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी र महासचिव प्रज्न्वल ओलीले अवार्ड प्रदान गरे ।

स्पेसल अवार्डबाट भलिबलका प्रशिक्षक कुमार राई सम्मानित भए । प्रशिक्षक राई एआइपिएस एसियाका अध्यक्ष ही दोङ जङले अवार्ड प्रदान गरे । १९ औंं एसियाली खेलकुदमा नेपाललाई कांस्य पदक दिलाउन सफल महिला कबड्डी टोलीले टिम अफ दी इयरको अवार्ड प्राप्त गर्यो ।

नेपाल जुडो संघका अध्यक्ष दीपक हर्ष ब्रजाचार्यले यो टोलीलाई अवार्ड प्रदान गर्यो । लाइफ टाइम एचिभमेन्ट अवार्ड, स्पेशल अवार्ड र पारा एथ्लेटिले अवार्डसँगै जनही एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो ।

एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डबाट एआइपिएस एसियाका अध्यक्ष हि डोङ जङलाई प्रदान गरिएको छ ।

सूर्य नेपाल प्रालीका ब्रान्ड म्यानेजरले दक्षिण कोरियाली पत्रकार ही डोङले अवार्ड प्रदान गरे । कुल १० विधामध्ये एसियन स्पोटर््स जर्नालिस्ट अवार्ड विजेताबाहेक ८ विधाका विजेता युनाइटेड अजोड इन्स्योरेन्सको तर्फबाट एक वर्षका लागि खेलकुद विमा पाउने छन् ।

यसै कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का अध्यक्ष दुर्गानाथ सुबेदीसहित युएईका अब्दुला इब्राहिम, मलेसियका अहमद खवारी इसा, भारतका सबा नायकन, साउदी अरेबियाका सालेह अब्दुल अजिज र बंगलादेशका महमुद हुसेन खानले एआइपिएस एसिया लिजेन्ड्स अवार्ड प्राप्त गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.