
काठमाडौं । एसियाली ट्रायल मास्टर च्याम्पियनसिपमा पदक विजेता खेलाडीहरु स्वदेश फर्केका छन् ।
उनीहरुलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद् र नेपाल एडभेन्चर रनिङ महासंघका पदाधिकारीले स्वागत गर्दै बधाई तथा शुभकामना दिएका थिए ।
परिषद्की कार्यकारी समितिकी सदस्य नन्दा बस्याल, वरिष्ठ उपाध्यक्ष खत्रीलगायतका पदाधिकारीले खेलाडीलाई स्वागत गरे ।
मलेसियाको सबाहमा सेप्टेम्बर १२ देखि १५ तारिखसम्म भएको प्रतियोगितामा नेपालले ३ स्वर्ण र १ कांस्य पदक जितेको महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्रीले जानकारी दिए ।
महिला ७८ किलोमिटर दूरी प्रिया राईले १० घण्टा ५९ मिनेट ४८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितिन् । सोही स्पर्धामा नेपालकी रशिला तामाङले कांस्य जितिन् ।
रशिलाले निर्धारित दूरी तय गर्न १३ घण्टा १५ मिनेट ०९ सेकेन्ड समय लगाइन् । महिलामा नेपालबाट ५ खेलाडीले सहभागिता जनाएकोमा छोकी शेर्पा सातौं, पदमकुमारी सुनुवार आठौं र आङ फुर्वा शेर्पा २२ औं स्थानमा रहे । ३५ खेलाडी सहभागी थिए ।
पुरुष ७८ किलोमिटर दूरीमा नेपालका ४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
४५ धावक सहभागी उक्त स्पर्धामा अर्जुन कुलुङ राईले १० औं, लोकेन्द्र राईले १४ औं, फुर्पासिंह तामाङले २२ औं र मिलन राईले २७ औं स्थानमा दौड टुंगाए ।
समूहमा भने नेपालको पुरुष/महिला दुवै टिम पहिलो भएको वरिष्ठ उपाध्यक्ष खत्रीले जानकारी गराए ।



















