एसिया रग्बी सेभेन्स काठमाडौमा हुँदै

Share this
753shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज ३, बिहीबार ११:१२

काठमाडौं । काठमाडौंमा महिला तथा पुरुष एसिया रग्बी सेभेन्स ट्रफी प्रतियोगिता हुने भएको छ ।

एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा असोज १८ र १९ हुने काठमाडौंमा हुने प्रतियोगितामा १७ राष्ट्रको २२ वटा टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

जसमा पुरुषतर्फ १४ तथा महिलातर्फ ८ टोलीले भाग लिन लागेको पत्रकार सम्मेलनमार्फत नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए ।

उनकाअनुसार पुरुषमा नेपालसहित अफ्गानिस्तान, बहराइन, भारत, जोर्डन, काजकिस्तान, पाकिस्तान, फिलिपिन्स, कतार, साउदी अरबिया, उज्वेकिस्तान, बंगलादेश, चाइनिज ताइपेईं र श्रीलंका रहेका छन् ।

महिलामा नेपाल, भारत, गोआम, इन्डोनेसिया, इरान, फिलिपिन्स, उज्वेकिस्तान र श्रीलंका छन् ।

यसअघि नेपाल रग्बी संघले सन् २०२२ मा एसिया रग्बी यु–१८ सेभेन्स र सन् २०२३ मा एसिया रग्बी यु–२० सेभेन्सको आयोजना गरिसकेको छ ।

संघले आयोजना गर्न लागेको यो तेस्रो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

प्रतियोगिताका लागि कूल ४ सय ५० भन्दा धेरै खेलाडी तथा अफिसियल सहभागी हुने छन् । दुवैतर्फका विजेताले ट्रफी र मेडल प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो स्थान हासिल गर्ने टोलीले पनि पदक पाउने छन् ।

प्रतियोगिताको अनुमानित बजेट करिब २ करोड २० लाख रुपैयाँ रहेको बताइएको छ । एसिया रग्बी सेभेन्स ट्रफी एसियाली खेलकुद र ओलम्पिक छनोटको माध्यमसमेत रहेको संघका महासचिव गोविन्द घिमिरेले बताएका छन् ।

उनका अनुसार प्रतियोगिताका अन्तिम दुई टोली रेलिगेशनमा पर्ने छ भने च्यालेन्ज कपका शीर्ष दुई टोली एसिया रग्बी सेभेन्स सिरिजमा उक्लिने छन् । संघले एसिया रग्बी सेभेन्सको तयारीका लागि न्युजिल्यान्डका अनुभवी प्रशिक्षक मुरे पउल स्टुर्ट फ्रेड रोयलाई नियुक्त गरेको थियो ।

मुरेको प्रशिक्षणमा नेपालका दुवै टोलीले भक्तपुरमा दुई महिना प्रारम्भिक प्रशिक्षण गरेको थियो भने हाल पोखरामा बन्द प्रशिक्षणमा छन् ।

यसै प्रतिस्पर्धाका लागि नेपालको १६ सदस्यीय महिला/पुरुष टोलीको घोषणा भइसकेको छ । संघका महासचिव घिमिरेका अनुसार एसियामा नेपाल अहिले पुरुषतर्फ १० तथा महिला तर्फ छैटौं वरियतामा छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.