शारीरिक सुगठनका खेलाडी प्रकाशको अन्त्येष्टि

Share this
648shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज ५, शनिबार १७:४८

विराटनगर । पाँचौं मिस्टर काठमाडौं शारीरिक सुगठनका विजेता प्रकाश राईको आज मोरङको पथरीमा दाहसंस्कार गरिएको छ ।

काठमाडौंबाट दाहसंस्कारका लागि घर ल्याइएको राईको पार्थिव शरीरमा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्ब अधिकारी, सामाजिक मन्त्री पाँचकर्ण राई, राज्यमन्त्री सिर्जना राईलगायतले पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।

४५ वर्षीय राईको काठमाडौंमा बुधबार बिहान हृदयघातका कारण निधन भएको थियो । पथरीशनिश्चरे नगरपालिका– १ बजार क्षेत्रमा घर भएका राई करिब ३ दशकदेखि शारीरिक सुगठन खेलमा आवद्ध भएको परिवारका सदस्यले बताएका छन् ।

काठमाडौंमा निधन भएपछि आज प्रकाशको शव घर ल्याएर दाहसंस्कार गरिएको हो ।

स्वास्थ्यमा समस्या भएपछि बुधबार बिहान धापासीमा रहेको ग्रान्डी अस्पताल लगिएको थियो । तर, उपचारका क्रममा उनको निधन भएको थियो ।

मोरङ पथरीका राई मिस्टर काठमाडौं प्रतियोगितामा विभिन्न ५ तौल समूहका विजेतालाई पछि पार्दै ओभरअल च्याम्पियनसमेत बनेका थिए ।

राईलाई श्रद्धाञ्जली दिन उनको पार्थिव शरीरलाई शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हातामा राखिएको थियो ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका प्रथम उपाध्यक्ष विजयलाल कायश्थ, काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष सुरेश सुवेदी, खेलाडी, प्रशिक्षक, कर्मचरीलगायतले राईको पार्थिव शरीरमा झण्डा र पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।

राईले २०१८ को बुल्स म्यानमा स्वर्ण तथा २०६३ मा भएको मिस्टर धर्मश्रीमा रजत जितेका थिए ।

उनले २०१४ मा हङकङमा भएको हङकङ आर्नाेल्ड क्लासिकमा र मकाउमा पनि पदक जितेका थिए ।

राईमा यसअघि कुनै पनि किसिमको स्वास्थ्य समस्या नभएको र एक्कासी बिरामी परेको परिवारले जनाएको छ ।

राईको घरमा बुवाआमा, श्रीमती र ९ वर्षका एक छोरा छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.