एनपीएलका लागि राखेपमा हेल्प डेक्स स्थापना

Share this
761shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज ७, सोमबार १८:०९

काठमाडौं । नेपाल क्रिकेट संघ (कयान)ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपीएल)का लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा हेल्प डेक्स स्थापना गरिएको छ ।

राष्ट्रिय खेल संघले नेपालमा आयोजना गर्ने अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा डेक्सले आवश्यक समन्वय गर्ने राखेप सदस्य–सचिव टंकलाल घिसिङले जानकारी दिए ।

डेक्सको उद्घाटन गर्दै सदस्य–सचिव घिसिङले विदेशी खेलाडीहरुका लागि आवश्यक पर्ने सम्पूर्ण प्रक्रियामा डेक्सले काम गर्ने बताए ।

उनले क्यानको कार्यक्रमलाई आवश्यक समन्वयका लागि सुरु गरेको डेक्सले सबै प्रकारका अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहजीकरण गर्ने भन्दै विशेष कार्यक्रममा समन्वयका लागि डेक्स स्थापना गरिएको बताएका हुन् ।

क्यानले आगामी मंसिर १५ देखि पुस ७ गतेसम्म एनपीएल सञ्चालन गर्दै छ । एनपीएल व्यवस्थापन डेक्सले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको लिग तथा फ्रेन्चाइज लिग सञ्चालन तथा आयोजना सम्बन्धी कार्य गर्ने गरी डेक्स स्थापना गरिएको हो ।

नेपाल क्रिकेट संघका सचिव पारश खड्काले राखेपले सुरु गरेको लिग व्यवस्थापन डेक्समार्फत लिग सम्पन्न गराउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

राखेपले प्रशासकीय अधिकृत सानुराजा केसी संयोजक रहने गरी प्रशासकीय अधिकृत धन शाही र लेखापाल खेमशंकर अधिकारी सदस्य रहेको तीन सदस्यीय डेक्स स्थापना गरेको खेलकुद विकास विभाग प्रमुख सरोज पोखरेलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.