काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले विभिन्न खेलका मुख्य प्रशिक्षकसँग प्रशिक्षण, भावी योजना, समस्यालगायतका विषयमा बिहीबार छलफल भएकाे छ ।
सो अवसरमा सदस्य–सचिव घिसिङले मुख्य प्रशिक्षकलाई आफ्नो क्षमता सहि ठाउँमा सदुपयोग गर्नुपर्ने सुझाउँदै प्रशिक्षकहरुले आवश्यकता अनुसार समय–समयमा रिफ्रेसर कोर्ष गर्नुपर्नेमा जोड दिए ।
विगतको प्रशिक्षण शैलीले मात्र सोचे जस्तो उपलब्धि हासिल गर्न नसकिने बताउँदै, उनले भने, ‘वैज्ञानिक प्रशिक्षणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औल्याए । वैज्ञानिक प्रशिक्षणका लागि फिट्नेस सेन्टर निर्माण र सोका लागि आवश्यक पर्ने सामाग्री खरिदको प्रक्रिया अगाडि बढिसकेको छ । मुख्य प्रशिक्षकको प्रगति विवरणका विषयमा जानकारी लिन कम्तीमा महिनमा एक पटक बैठक बस्ने छ ।’
छलफलमा राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक शोभितराज प्रसाईं, उप–निर्देशक विष्णु सिंहसहित भारोत्तोलन, कुस्ती, उसु, भलिबल, क्रिकेट, जुडो, ब्याडमिन्टन, शारीरिक सुगठन, लनटेनिस, टेबलटेनिस, पौडी, जिम्न्याष्टिक, तेक्वान्दो, बास्केटबललगायत खेलका मुख्य प्रशिक्षकको उपस्थिति रहेको थियो ।
सो अवसरमा मुख्य प्रशिक्षकहरुले आ–आफ्नो खेलको अवस्थाबारे जानकारी गराउँदै समस्याबारे अवगत गराएका थिए ।