
विराटनगर । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश पर्यटकीय दृष्टिकोणले अत्यन्तै उर्वर रहेको बताएका छन् ।
कोशी प्रदेश भौगोलिक, सामाजिक, सांस्कृतिक तथा जैविक विविधताले भरिपूर्ण छ । ४५ औं विश्व पर्यटन दिवसका अवसरमा कार्कीले नेपालकै होचो क्षेत्र झापाको केचनाकबलदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासहित १० अग्ला हिमालमध्ये ५ वटा कोशी प्रदेशमा रहनुले पनि पर्यटन क्षेत्रमा प्रदेशको सम्भावना उच्च रहेको बताए ।
मुख्यमन्त्री कार्कीले भने, ‘विश्वको सर्वोच्च शिखर सगरमाथासहित १० अग्ला हिमाल मध्ये ५ वटा मकालु, लोत्से, कञ्चनजंघा र कुम्भकर्ण हिमालले विश्वका पर्यटकहरुको ध्यान आकृष्ट गरेको छ । पाथीभरा, वराहक्षेत्र र हलेसी, खुवालुङदेखि माङ्सेबुङ, फक्ताङ्लुङ, तुवाचुङ, जायजुङ जस्ता ऐतिहासिक र धार्मिक सम्पदाहरुले हाम्रो सामाजिक र धार्मिक विविधतालाई उजागर गरेको छ ।’
पर्यटन प्रवर्धन गरी राष्ट्रिय पूँजी विकास गरेर ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई पूरा गर्न सकिने उनले बताए । मुख्यमन्त्री कार्कीले पर्यटन प्रवर्धनका लागि कोशी प्रदेश सरकारले स्थापनाकालदेखि नै काम गरिरहेको बताए । भने, ‘प्रदेशको स्रोत र साधनले भ्याएसम्म पर्यटकीय गन्तव्यहरुको निर्माण गर्ने र प्रचारप्रसार गर्ने काम पनि सुरु गरिएको छ ।’
उनले संघीय सरकार र स्थानीय सरकारहरुसँगको समन्वय एवं सहकार्यमा प्रदेशको पर्यटनलाई अगाडि बढाउन चाहेको उल्लेख गर्दै पर्यटन प्रवर्धन सम्बन्धित क्षेत्रको साझेदारी र हातेमालो बिना सम्भव नरहेको बताए । कोशी प्रदेशको समृद्धिका लागि पर्यटन विकासमा अगाडि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

























