
विराटनगर । मोरङको पथरीशनिश्चरेमा भएको प्रथम इन्ट्रा पथरीशनिश्चरे अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको काठमाडौंको ब्रिगेड ब्वाइज फुटबल क्लबले उपाधि जितेको छ ।
पथरी ११ ले आयोजना गरेको प्रतियोगिताअन्तर्गत सम्पन्न फाइनल खेलमा ब्रिगेड ब्वाइजले काठमाडौंकै संकटा फुटबल क्लबलाई टाइब्रेकरमा ५–३ गोलअन्तरमा पराजित गर्दै उपाधि जितेको हो ।
जितसँगै ब्रिगेड ब्वाइजले नगद ३ लाख र ट्रफी प्राप्त गर्यो भने उपविजेता रहेको संकटाले नगद २ लाख रुपैयाँमा चित्त बुझाउनु पर्यो ।
खेलको निर्धारित समयमा दुवै टोली गोलरहित खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । वर्षाका कारण खेल समय घटाइएको थियो ।
टाइब्रेकरमा ब्रिगेड ब्वाइजका एन्जल महर्जन, अशिम गुरुङ, दिवाकर चौधरी, एक्सन लिम्बू, पदम भट्टराईले गोल गरेका थिए ।
संकटाका पुस्कर खड्का, युवराज ढकाल र विदेशी खेलाडी एकिङ्सले गोल गरे भने अनिष परियारको प्रहारलाई ब्रिगेड ब्वाइजका गोलरक्षक रुविन बोगटीले विफल पारे ।
म्यान अफ द फाइनल ब्रिगेडका पदम भट्टराईले नगद ५ हजार प्राप्त गरे ।
व्यक्तिगत विद्यातर्फ ब्रिगेडका रुविन बोगटी उत्कृषट गोलरक्षक, दिवाकर चौधरी उत्कृष्ट डिफेन्स, सुवित कार्की उत्कृष्ट प्रशिक्षक घोषित भए ।
संकटाका विवेक आले मगर उत्कृष्ट मिड फिल्डर, पथरी ११ का निउचन धिमाल उदयमान खेलाडी र झापा ११ का प्रदीप बुढाथोकी सर्वाधिक गोलकर्ता हुँदै जनही १०–१० हजार प्राप्त गरे ।
प्रतियोगिताको सर्वाेकृष्ट खेलाडी ब्रिगेडका एन्जल महर्जनले नगद २५ हजार प्राप्त गरे ।
खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोलगायतले वितरण प्रदान गरे ।
असोज ५ देखि १२ गतेसम्म भएको प्रतियोगितामा नेपाल र भारतका गरी ८ टोलीको सहभागिता रहेको थियो ।



















