
काठमाडौं । काठमाडौंमा नेपाल पौडी संघले आयोजना गरेको १२ औ एनएसए पौडी प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा अजलकाजी ताम्राकार वर्षको उत्कृष्ट खेलाडी घोषित हुँदै नगद २५ हजार रुपैयाँ प्राप्त गरे ।
ताम्राकारले ५० मिटर फ्रिस्टाइलमा आफ्नो नाममा रहेको पुरानो राष्ट्रिय कीर्तिमान भंग गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे ।
प्रतियोगिताको समापनको अवसरमा नेपालको तर्फबाट ओलम्पिकमा सहभागिता जनाउने पौडीवाज सीताराम शाहीलाई नगद २५ हजारका साथ सम्मान गरियो ।
शाहीले सन् १९९६ मा एटलान्टामा भएको ओलम्पिकमा सहभागिता जनाएका थिए ।
त्यस्तै, नेपालका सिनियर लाइफ गार्ड पदमजंग शाह पनि सम्मानित भए । उनलाई नेपाली पौडीमा गरेको योगदानलाई कदर गर्दै सम्मान गरिएको नेपाल पौडी संघले जनाएको छ ।
प्रतियोगितामा कुल ७० स्पर्धामा २ सय ८३ खेलाडी सहभागी थिए ।



















