
काठमाडौं । एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ शुक्रबार (भोलि)देखि काठमाडौंमा हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबारदेखि हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले जानकारी दिएका छन् ।
उनकाअनुसार प्रतियोगितामा एसियाका १६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । पुरूषमा १४ र महिलामा ७ टोलीको सहभागिता रहेको छ । आन्तरिक कारण इरानले अन्तिम समयमा प्रतियोगिताबाट नाम फिर्ता लिएको महासचिव घिमिरेले बताए ।
पुरुषमा सहभागी टोलीलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल हुनेछ । नेपाल रहेको समूह ‘बी’ मा बहराइन र उज्वेकिस्तान छन् ।
समूह ‘ए’ मा फिलिपिन्स, पाकिस्तान र जोर्डन, समूह ‘सी’ मा काजाकिस्तान, कतार, साउदी अरयिबा र श्रीलंका तथा समूह ‘डि’ मा अफ्गानिस्तान, भारत, बंगलादेश र चाइनिज ताइपेई रहेका छन् ।
महिलातर्फ ७ राष्ट्रलाई २ समूहमा बाँडिएको छ । समूह ‘ए’ मा नेपालसहित फिलिपिन्स र गुआम, उज्वेकिस्तान तथा समूह ‘बी’ मा भारत, इन्डोनेसिया छन् । सबै राष्ट्र नेपाल आइसकेको महासचिव घिमिरेले बताए । पहिलो दिन पुरुष÷महिला दुवै नेपालले समूह चरणका सबै खेल खेल्ने छ ।
प्रतियोगिताको च्याम्पियन महिला तथा पुरुष टोलीले एसिया रग्बीको ट्रफीसहित स्वर्ण पदक, दोस्रो हुनेले रजत र तेस्रो हुने टोलीले कांस्य पदक प्राप्त गर्नेछन् ।
नेपालबाट महिलामा सिर्जना राई र पुरुषतर्फ विक्रम पुरीले कप्तानको भूमिका निर्वाह गरेका छन् । इरानले महिला टोलीलाई सहभागी गराउन लागेको थियो ।
यो प्रतियोगिता २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजको छनोटका रूपमा समेत रहेको छ । प्रतियोगिताको विजेताले २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजमा स्थान बनाउने छन् ।
रग्बी संघका अध्यक्ष दीपक देवकोटाले ५६ दिनको बन्द प्रशिक्षणसहित नेपाली टोलीले करिब ४ चार महिनाको तयारी गरेको जानकारी दिए । उनले नेपालको लक्ष्य पाँचौं स्थान हासिल गर्नु रहेको छ ।
एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा हुन लागेको प्रतियोगिताको पहिलो दिन ३० तथा दोस्रो दिन २० गरी जम्मा ५० खेल हुने छन् ।
सिनियर स्तरको एसियाली रग्बी नेपालमा पहिलो पटक हुन लागेको हो । आयोजकका अनुसार प्रतियोगिताको अनुमानित बजेट २ करोड १० लाख रुपैयाँ रहेको छ ।



















