
काठमाडौं । एसियाली टेबलटेनिस च्याम्पिन्सिपको २७ औं संस्करणमा सहभागी हुन खेलाडीहरु आज काजाकिस्तान जाँदै छन् ।
असोज २१ देखि २७ गतेसम्म हुने प्रतियोगिताका लागि २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली जाने भएका हुन् । प्रतियोगितामा पुरुषतर्फ संयोग कपाली र महिलामा इभाना थापाले प्रतिस्पर्धा गर्ने छन् ।
उनीहरुले सिंगल्स र मिक्स डबल्समा प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा मोहनदास बासुकला छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमालले एक कार्यक्रमबीच बिदाइ गरे ।
उक्त प्रतियोगितामा खेलाडी सहभागी गराउन संघले भदौ १५ देखि १८ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा छनोट प्रतियोगिता आयोजना गरेको टेबलटेनिस संघका महासचिव कुँवेर सिंहले जनाएका छन् ।



















