
विराटनगर । मोरङ जिल्ला खेलकुद विकास समितिले वडा दसैं, दीपावलीलगायतका चाडवाडका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।
बुधबार विराटनगरमा दसैं तिहारलगायतका विभिन्न चाडपर्वहरूको अवसरमा समितिले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा चाडपर्वहरूको शुभकामना दिँदै प्रदेश खेलकुद विकास वोर्डकी उपाध्यक्ष विन्दिया कार्कीले खेलकुद क्षेत्रलाई राजनीतिबाट टाढै राख्नुपर्ने बताइन् ।
खेलकुदमा राजनीतिले उपलब्धी हाँसिल गर्न नसकिने कार्कीले स्पष्ट पारिन् । कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद संघ कोशी प्रदेशका अध्यक्ष वसन्त अर्यालले खेलकुद क्षेत्रलाई सरकारले उपेक्षा गरेको बताए ।
उनले राष्ट्रिय गौरवको आयोजना भनिए पनि विराटनगरस्थित वैजनाथपुर रंगशालालाई न्यून बजेटमात्रै विनियोजन गरेको गुनासो गरे ।
कार्यक्रममा विराट गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष किशोर शाही, पूर्व फुटबल प्रशिक्षक सन्तोष बानियाँ, मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष इन्द्र लामा, सदस्य विनोद डाँगीलगायतले खेलकुद क्षेत्रलाई सरकारले उपेक्षा गरेकै कारण पर्याप्त उपलब्धी हासिल हुन नसकेको धारणा राखे ।



















