
विराटनगर । अनलाइन जुवाका कारण मोरङ प्रहरीमा ‘उथलपुथल’ भएको छ । अनलाइन जुवा कारोबारीसँग लेनदेन गरेको आरोपमा प्रहरी प्रमुखसहित ५ जना प्रहरी तानिएपछि जिल्लामा ‘उथलपुथल’ भएको हो ।
अनलाइन जुवा सञ्चालकसँग लेनदेन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत इन्स्पेक्टर विक्रमबहादुर भट्टराई, हवल्दार राजकुमार श्रेष्ठ, सहायक हवल्दार सरोज श्रेष्ठ र इलाका प्रहरी कार्यालय बेलबारीमा कार्यरत हवल्दार खगेन्द्र राउत छानबिनका लागि बिहीबार प्रदेश प्रहरी कार्यालय रानीमा तानिएका छन् । शुक्रबार मोरङ प्रहरी प्रमुख नवराज कार्की पनि ‘हेडक्वाटर’ तानिएका थिए ।
अनलाइन जुवा खेल्ने र खेलाउनेसँग ‘सेटिङ’ गरेर रकम लिएको घटनाले नै ‘उथलपुथल’ भएको उच्च प्रहरी स्रोतले बतायो । ‘मोरङका अरु घुमुवा प्रहरीलाई पनि प्रदेश झिकाइएको छ । थप के हुँदैछभन्ने थाहा छैन,’ स्रोतले भन्यो ।
प्रहरी स्रोतका अनुसार ‘वान–एक्स बेट’ नामक अनलाइन जुवा खेल्नेसँग पैसा लिएको रंगेहात भेटिएपछि घुमुवा प्रहरीका रूपमा खटिँदै आएका इन्स्पेक्टर भट्टराईसहित ४ जनालाई प्रदेश प्रहरी कार्यालय तानिएको हो । यो प्रकरणमा नेपाल प्रहरीका पूर्वअसइ कृष्ण घिमिरे पनि जोडिएका छन् ।
बिहीबार राति नियन्त्रणमा लिइएपछि बहालवाला प्रहरीलाई प्रदेश प्रहरी गण रानीमा राखिएको थियो । पूर्वअसइ घिमिरेलाई १ रात इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखियो ।
विराटनगरबाटै उनीहरुलाई नियन्त्रणमा लिइएको प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले बताए । यसअघि सुन्दरहरैँचाको विराट चोकबाट नियन्त्रणमा लिइएको कुरा आएको थियो । प्रहरी अधिकारीले घटनाको वास्तविकता बताउनै चाहेका छैनन् ।
घटना लुकाउने र पैसा लिने प्रहरीलाई उन्मुक्ति दिने हिसाबबाट प्रक्रिया अघि बढाइएको प्रहरीका १ जना अधिकृत बताउँछन् । उच्च प्रहरी स्रोतका अनुसार पूर्वअसइ घिमिरेले नै अनलाइन जुवामा जोडिएका व्यक्तिहरुसँग ‘डिल’ गरेका थिए ।
‘प्रहरीलाई मिलाएर अनलाइन जुवा खेल्ने र खेलाउने वातावरण बनाइदिने भनेर घिमिरेले ‘डिल’ गरेका रहेछन् । ‘५० लाख रूपैयाँजति ‘डिल’ गरेको कुरा आएको छ,’ स्रोतले भन्यो, ‘२५ लाख रूपैयाँ तत्काल लिएको र थप २५ लाख पछि लिने सर्त थियोभन्ने कुरा छ । लिएको पैसा नै बरामद भएपछि प्रदेशको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।’
प्रहरी नै संलग्न भएर अनलाइन जुवाडेसँग पैसा कति लिए र कतिमा ‘डिल’ भएको थियोभन्ने कुरा प्रदेश प्रहरी कार्यालयले ‘गुपचुप’ राखेको छ । अनलाइन जुवा खेल्ने र खेलाउने समूहलाई भने अनुसन्धान एवं कारबाहीको दायरामा ल्याइएको छैन ।
उल्टै पैसा फिर्ता गर्न लगाएर घटना मिलाइएको प्रहरीका १ जना अधिकृतले बताए । ती अधिकृतका अनुसार ‘सेटिङ’ गरेर लिएको पैसा फिर्ता नगरेको भए बहालवाला र पूर्वप्रहरीविरुद्ध मुद्दा चलाउने तयारी थियो ।
‘जोसँग पैसा लिएको हो उसैलाई फिर्ता गर्न लगाइयो । त्यसपछि पैसा दिनेले जाहेरी हाल्न मानेनन्,’ उनले भने, ‘दुवै पक्षलाई मिलाएर घटना सामसुम पार्न खोजिएको छ । मुद्दा नचलाउने तयारी छ ।’
जिल्लाका प्रहरी कर्मचारीले अनलाइन जुवा खेलाउनेसँग पैसा लिएको घटना बाहिर आएसँगै मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीलाई ‘हेडक्वार्टर’ (प्रहरी प्रधान कार्यालय) तानिएको छ । उनलाई आन्तरिक सोधपुछका लागि बोलाइएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी दानबहादुर कार्कीले बताए ।
मोरङमा एसपी कार्कीले सालिन र भद्र स्वभावको छवि बनाएका थिए । उनको जिल्ला प्रहरी प्रमुखका रुपमा २०८० फागुन २ गते सरुवा भएको थियो । ८ महिनामै तानिएका हुन् ।
प्रदेश प्रहरी प्रमुख डीआईजी खापुङले आर्थिक लेनदेनको विवादमा मुछिएका कारण आन्तरिक छानबिन एवं अनुसन्धानका लागि प्रहरीलाई प्रदेशमा तानिएको बताए । ‘केही न केही अनियमितता भएको कुरा आएकाले लिएर आएका हौं । छानबिन भइरहेको छ,’ उनले भने, ‘१–२ दिनमा सबै कुरा आउँछ । अनुसन्धानकै क्रममा रहेका कारण सबै कुरा अहिल्यै भन्न मिल्दैन ।’

























