
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर बेलायततिर लागेका छन् । इन्टरपोलको ९२ औं महासभामा सहभागी हुन उनी आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
इन्टरपोल महासचिवालयको आयोजनामा संयुक्त राज्य बेलायतको ग्लास्गोमा कात्तिक १९ देखि २२ गतेसम्म महासभा हुने छ । महासभामा आईजीपी कुँवरसहित सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) अन्जनीकुमार पोखरेल र इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोमल शाह समेतले महासभामा भाग लिनेछन् ।
इन्टरपोलमा १ सय ९६ सदस्य राष्ट्रहरू छन् । सबै मुलुकका प्रतिनिधिहरू सहभागी हुने उक्त महासभामा इन्टरपोलका महत्वपूर्ण नीतिगत विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान अनुसार नेपालले पनि मतदानहरूमा भाग लिनेछ ।
उक्त महासभामा इन्टरपोल र विश्व स्वास्थ्य संगठनबीचको सहयोग सम्झौता, आतंकवाद रणनीति र परिचालन, इन्टरपोलको विश्लेषणात्मक क्षमताहरूलाई सुदृढ गर्न एकीकृत रणनीति, बाल यौन दुर्व्यवहार सामग्री प्रकाशित गर्ने वेबसाइटहरूको सूची तथा निजी संस्थाहरू बीचको सहकार्यलगायतमा छलफल हुनेछ ।
कुँवर बेलायत प्रस्थान गरेसँगै नेपाल प्रहरीको निमित्त आईजीपीको जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकप्रसाद राईले पाएका छन् । उनले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने छन् ।

























