
विराटनगर । विराटनगरमा कोशी ग्यासको सिलप्याक सिलिन्डरमा ग्यास कम भेटिएको छ । बेच्न भनेर ठेलामा डुलाउँदै लगिएको ग्यास कम तौलको रहेको पाइएको हो ।
विराटनगर महानगरपालिका–३ बुद्ध चोकका राजेन्द्र खनालले बुधबार दिउँसो ४ सिलिन्डर ग्यास खरिद गरेका थिए । उनले ठेला रिक्सामा डुलाउनेसँग ग्यास किनेर तौल गर्दा कम रहेको थाहा पाएर दिउँसो २ः३० बजेतिर प्रहरीलाई खबर गरे ।
प्रहरीसहित जनप्रतिनिधि, नापतौल तथा गुणस्तर कार्यालय, जिल्ला प्रशासन कार्यालय मोरङ, कोशी ग्यासका प्रतिनिधिसमेतको टोलीले चेकजाँच गर्दा सिलिन्डरमा हुनुपर्ने परिणाममा भन्दा कम ग्यास रहेको पाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार ४ वटै सिलिन्डर बरामद गरिएको छ ।
त्यसलगत्तै संयुक्त टोलीले मोरङको बूढीगंगा गाउँपालिका–४ मा रहेको कोशी ग्यास उद्योग प्रा.लिमा आकस्मिक अनुगमन गरेको थियो । चेकजाँच गर्दा उद्योगमा भने कुनै कैफियत नभेटिएको डीएसपी जोशीले बताए ।
उद्योगले पनि कुनै बदबासी वा लापरबाही नभएको जवाफ दिएको छ । उद्योगबाट निकालिसकेपछि बाहिरै बदमासी भएको हुनसक्ने आशंका छ ।
उनका अनुसार ठेलामा ग्यास बेच्दै हिँड्ने ठेला चालक विराटनगर–१ भट्ट चोकका गोपाल मण्डल र उनका साथी सुशान्त साहलाई पक्राउ गरिएको छ । दुवै जनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
‘सिलिन्डर सिलप्याक छ । तर, ग्यास कसरी कम भयो भनेर हेर्दैछौं । थप अनुसन्धानपछि वास्तविकता पत्ता लाग्छ,’ जोशीले भने । उनका अनुसार बरामद गरिएको ४ वटा सिलिन्डरमा क्रमस ५.४०५, ४.४५५, ३.४६० र ०.६४ किलोग्राम कम तौल थियो ।
भरिएको एउटा सिलिन्डरमा १४.२ किलोग्राम ग्यास हुनुपर्छ । तर, ४ वटामा जम्मा १३.९६० किलोग्राम कम ग्यास रहेको जानकारी डीएसपी जोशीले दिए ।

























