
काठमाडौं । नेपालको बिजुली आज (शुक्रबार) बंगलादेश निर्यात हुँदै छ । भारतको बाटो हुँदै ४० मेगावाट विद्युत निर्यात हुने भएको हो ।
नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीले ‘भर्चुअल’ माध्यमबाट संयुक्त रूपमा उद्घाटन गर्ने कार्यक्रम छ । त्यसपछि नेपाल–बंगलादेश विद्युत व्यापारको औपचारिक सुरुवात हुने छ ।
तीन देशका कम्पनीबीच जुन १५ देखि नोभेम्बर १५ सम्म नेपालबाट बंगलादेशले विद्युत निर्यात गर्ने सम्झौता गत असोज १७ गते भएको थियो । तर, शुक्रबार निर्यात भएपछि सन् २०२४ भरी विद्युत निर्यात हुने छैन । नेपाल विद्युत प्राधिकरणका अनुसार २०२५ को जुन १५ देखि पुनः निर्यात सुरु हुने छ ।
बिजुली बंगलादेश पठाउनु भारतबाहेक तेस्रो देशमा पनि विद्युत व्यापारको सम्भावना छ भन्ने बलियो माध्यम हुने प्राधिकरणको भनाइ छ । प्राधिकरणका अनुसार भारतको केन्द्रीय विद्युत नियमन आयोग (सीईआरसी)ले बंगलादेश बिजुली निर्यात गर्न नेपाललाई अनुमति दिएको छ ।
भारतले यसअघि बंगलादेश विद्युत निर्यातको अनुमति दिन मानिरहेको थिएन । लागिसीईआरसीको निर्यात अनुमति आवश्यक पर्ने सम्झौतामै उल्लेख छ । प्राधिकरणका प्रवक्ता चन्दन घोषका अनुसार मध्यान्ह ४० मेगावाट विद्युत निर्यात हुने छ ।
नेपालले अहिलेसम्म भारतमा मात्रै विद्युत निर्यात गरिरहेको थियो । आजबाट तेस्रो मुलुकसँग पनि नेपालको औपचारिक विद्युत व्यापार सुरु हुने छ । गत असोज १७ को सम्झौताले यो बाटो खोलेको हो ।
नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट करिब ८ रुपैयाँ ६४ पैसा (६.४ अमेरिकी सेन्ट) का दरले बंगलादेशलाई विद्युत निर्यात गर्ने छ । निर्यातका क्रममा भारतको एनटीपसी विद्युत व्यापार निगम लिमिटेड (एनभीभीएन) को प्रसारण लाइन प्रयोग गरेबापत ‘ह्विलिङ चार्ज’ बंगलादेशी कम्पनीले तिर्ने सम्झौता छ ।
भारत मुजफ्फरपुरमा राखिने मिटरमा नेपालबाट निर्यात हुने विद्युतको रेकर्ड रहने छ । त्यहाँसम्मको प्राविधिक नोक्सानी नेपाल विद्युत प्राधिकरणले बेहोर्ने र मुजफ्फरपुरबाट बंगलादेश सीमाको प्राविधिक नोक्सानी बंगलादेशी पक्षले तिर्ने त्रिपक्षीय सम्झौता छ ।
नेपालले बिजुली ६.४ सेन्टमा बेच्छ । तर, बंगलादेश पुग्दा भाउ प्रतियुनिट करिब ७.६ सेन्ट पुग्ने अनुमान छ । नेपालबाट जाने बिजुली भारतको बेहरमपुर (भारत)–भेडामारा (बंगलादेश) ४ सय केभी प्रसारण लाइन हुँदै बंगलादेशले लिने छ ।
उक्त प्रसारण लाइन हुँदै वितगदेखि नै बंगलादेशले विद्युत आयात गरिरहेको छ । नेपालले १० हजार मेगावाट भारत र ५ हजार मेगावाट विद्युत बंगलादेशलाई निर्यात गर्ने लक्ष्य लिएको छ । त्यो लक्ष्य अनुसार पहिलोपटक बंगलादेश विद्युत निर्यात हुन लागेको हो ।

























