
विराटनगर । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी हुने जर्सी र टिम गीत मंगलबार साँझ सार्वजनिक गरेको छ ।
एनपीएलको फ्रेन्चाइज टोली विराटनगर किङ्सले कोशी प्रदेशको राजधानी विराटनगरमा जर्सी सार्वजनिक गरेको हो । विराटनगरका मार्की खेलाडी सन्दीप लामिछानेले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की र टिम प्रवर्द्धक पारस लुनियालगायतको उपस्थितिमा जर्सी सार्वजनिक गरे ।
जर्सीको रंग पहेँलो र निलो छ । जर्सीसँगै कार्यक्रममा टिमको ऐन्थम गीतसमेत सार्वजनिक गरिएको हो । ‘भ्वाइस अफ’ विराटनगर किंग्स तथा एम्बासिडरसमेत रहेका कुशल पोखरेल र्याप फर्म्याटको गीतका रचनाकार हुन् ।
कार्यक्रमका अवसरमा विराटनगर किंग्सको फेसमा गायिका रचना रिमाललाई घोषणा गरिएको छ । नेपाली अन्डर–१९ महिला क्रिकेट टिमलाई विश्वकप यात्रा दिलाउन सफल प्रशिक्षक महेशप्रसाद रिजाल र खेलाडी रीया शर्मालाई कार्यक्रममा सम्मान गरिएको थियो । कार्यक्रममा कोशी प्रदेशका ५ जिल्लामा रहेका क्रिकेट संघहरुलाई क्रिकेट किटसमेत प्रदान गरिएको थियो ।
विराटनगरसँगै एनपीएलमा सहभागी ८ वटै फ्रेन्चाइज टिमले जर्सी र टिम गीत सार्वजनिक गरिसकेका छन् । अब प्रतियोगिताको अन्तिम तयारीमा खेलाडी केन्द्रित छन् ।
विराटनगरको टिममा सन्दीपसँगै प्रतिश जीसी, बासिर अहमद, लोकेश बम, जितेन्द्र मुखिया, राजेश पुलामी, अनिल खरेल, दीपक बोहोरा, सुवास भण्डारी, नरेश भट्ट, मृणाल गुरुङ तथा विदेशी खेलाडीहरूमा न्यूजिल्याण्डका ब्याटर मार्टिन गप्टिल, ओमानका कप्तान आकिब इलियास, क्यानडाका कप्तान निकोलस किर्टन, स्कटल्याण्डका क्रिस सोल र अफगानिस्तानका इस्मत आलम छन् ।
एनपीएल आगामी मंसिर १५ गतेदेखि सुरु हुने छ ।



















