
काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई ८ वर्ष कैद सजाय सुनाइएको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तुलसीप्रसाद थारू र रितेन्द्र थापाको इजलासबाट कैदसँगै पौडेललाई ३ करोड ४२ लाख जरिबाना हुने फैसला भएको हो । बिगोबापत पनि ३ करोड ४२ लाख तिर्नुपर्ने हुन्छ ।
पौडेल कात्तिक १४ गते दोषी ठहर भएका थिए । सजाय निर्धारण गरेर उनले भुक्तान गर्नुपर्ने कैद र जरिबाना यकिन गरिएको हो ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठलाई पनि ८ वर्ष कैद, त्यति नै बिगो र जरिबानाको फैसला भएको छ । अन्तःशुल्क स्टिकर खरिद अनियमितता प्रकरणका आरोपीहरु दोषी ठहर भएका हुन् ।
पौडेलसहित १२ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ९ गते विशेष अदालतमा मुद्दा दायर गरेको हो । प्रतिवादी बनाइएकामध्ये निवर्तमान मुख्यसचिव डा. बैकुण्ड अर्याललगायतले यो मुद्दामा
सफाइ पाएका छन् ।

























