
विराटनगर । लागुऔषध गाँजाको ओसारपसार र कारोबारमा संलग्न गिरोहले यसको तस्करीका लागि नयाँ–नयाँ शैली अपनाउन थालेका छन् ।
गिरोहले स्कोरपिओ गाडीमा सरकारी नम्बर प्लेट राखेर गाँजा तस्करी गर्ने गरेको पाइएको छ । प्रहरीले गोली प्रहार गरेर सरकारी नम्बर प्लेट लगाइएका दुईवटा गाडीलाई सुनसरीको धरान उपमहानगरपालिका–१३ अमरहाटबाट मंगलबार साँझ नियन्त्रणमा लिएको छ ।
धनकुटाबाट धरानतर्फ आउँदै गरेका स्कोरपिओलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले इन्सास राइफलबाट ४ राउण्ड गोली प्रहार गरेको थियो । गोली हानेर गाँजा लोड गरिएका बा १ झ ४६०५ र बा १ झ ५१२७ नम्बरका दुईवटा गाडी नियन्त्रणमा लिइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी भीमबहादुर दाहालले जानकारी दिए ।
सरकारी गाडीमा राखेर गाँजा ओसारपसार भइरहेको विशेष सूचना प्राप्त हुनसाथ नियन्त्रणमा लिन साँझ ७ बजेतिर इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगूसमेतको टोली खटिएको थियो । सवारीसाधनहरु चेकजाँच गर्ने क्रममा सरकारी नम्बर प्लेट राखिएको ५१२७ नम्बरको गाडीलाई चालकले भगाएका थिए ।
प्रहरीले गोली प्रहार गरेपछि भागेको उक्त गाडी धरान–१३ को सूर्य मार्गमा छाडेर चालक फरार भएको एसएसपी दाहालले बताए । गाडीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, सरकारी नम्बर प्लेट राखिएको अर्को ४६०५ नम्बरको गाडीलाई भने प्रहरीले चालकसहित नियन्त्रणमा लिएको छ । चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–११ का ३६ वर्षीय श्यामकुमार विश्वकर्मा पक्राउ परेको जानकारी दाहालले दिए ।
उनका अनुसार दुवै गाडी चेकजाँच गर्दा ६ सय ९० किलो गाँजा बरामद भएको छ । प्रहरीको गोली प्रहारबाट ५१२७ नम्बरको गाडीको पछाडिको भागमा क्षति पुगेको र घटनामा मानवीय क्षति नभएको दाहालको भनाइ छ ।
‘गाडीमा सरकारी नम्बर प्लेट राखेर गाँजाको ओसारपसार गर्ने गरेको पाइयो । प्रहरीले निगरानी नगर्ने ठानेर त्यसो गरेजस्तो देखिन्छ,’ उनले भने । गाडीमा सरकारी नम्बर प्लेट मात्रै राखिएको र दुवै गाडी सरकारी नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दाहालले दिए ।
‘गाडी सरकारी हुन कि हैनन् भनेर विभिन्न कोणबाट विश्लेषण भइरहेको छ । हालसम्मको अनुसन्धानबाट गाडी सरकारी नभएको पाइयो । यद्यपि, थप अनुसन्धानपछि मात्रै वास्तविकता पत्ता लाग्छ,’ एसएसपी दाहालले भने । उनका अनुसार बरामद भएको गाँजासहित दुवै गाडी र पक्राउ परेका एक जना चालकलाई इलाका प्रहरी कार्यालय धरानमा राखेर अनुसन्धानको थप प्रक्रिया अघि बढाइएको छ ।

























