विराटनगर । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)को अराजक हर्कतले सीमा नाघेको छ ।
आफूविरुद्ध आएको समाचारलाई लिएर उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पत्रकारलाई तथानाम गालीगलौज गर्दै धम्की दिएका छन् । मनपरी ढंगबाट चलिरहेका साम्पाङ आफूलाई जनताले जिताएको र विकासप्रेमी दाबी गर्न भने छाड्दैनन् ।
तर, स्थानीय सरकारको प्रमुख उनी कानुन नै हातमा लिएर धाकधम्की दिने खेदजनक कार्यमा बारम्बार संलग्न भएर जनमतको अपमान गरिरहेका हुन्छन् । सामाजिक सञ्जालको दुरुपयोग कानुनविपरीत हो । सामाजिक सञ्जालमार्फत कसैको प्रतिष्ठामा आँच पुग्ने काम गर्न नपाइने कानुनी व्यवस्था छ ।
धरानमा मनमौजी शासन चलाइरहेका साम्पाङले नक्कली माओवादी बनेर चन्दा उठाएको खुलासा गर्ने पत्रकार गोपाल दाहाललाई धम्की दिएका हुन् । साम्पाङले पदीय मर्यादाविपरीत फेसबुकमा धम्कीपूर्ण स्ट्याटस लेख्दै बुधबार साँझ खोज पत्रकारिताको अन्त्य गरिदिने भन्दै समग्र पत्रकारिता क्षेत्रमाथि नै धावा बोलेका छन् ।
केही दिनअघि खोपके (खोज पत्रकारिकता केन्द्र)ले धरानमा सुशासनको कुरा गर्ने साम्पाङको विगत र मेयरको रूपमा उनको विवादित कार्यशैलीबारे समाचार प्रकाशित गरेको थियो । मेयर हुनुअघि साम्पाङले नक्कली माओवादी बनेर चन्दा उठाएको र मेयर भएपछि पनि गैरकानुनी चन्दा संकलन गरिरहेको प्रमाणसहितको समाचार प्रकाशन भएको छ ।
चन्दा उठाउने क्रममा धरानको राष्ट्रिय वाणिज्य बैंकनजिकबाट वाईसीएलले पक्राउ गरेर माओवादी शिविरमा पुर्याइ उनलाई कुटपिट गरेको लगायतका विषय समाचारमा उल्लेख छन् । समाचार सार्वजनिक भएपछि पत्रकार दाहालको नाम नै किटान गरेर उनले धम्कीपूर्ण स्ट्याटस लेखेका हुन् ।
उनले लेखेका छन्, ‘खोज पत्रकारिता केन्द्रका गोपाल दहाल या कोही प्रतिनिधि भोलि १० बजे धरान १८ को ग्रीन टीमा हाजिर हुनु । अन्यथा तेरो खोज पत्रकारिताको अन्त्य गरिनछु भने मेरो नाम हर्क साम्पाङ होइन ! बु्झिस् चोरफटाहा !’ फेसबुकमार्फत तीव्र आक्रोश पोख्ने क्रममा साम्पाङले पत्रकार दाहाललाई ‘चोरफटाहा’ नै भनेका हुन् ।
साम्पाङले अर्को स्ट्याटस लेख्दै भनेका छन्, ‘भोलिको १० बजेको पत्रकार भेटमा मलाई आरोप लाउने त्यो खोज पत्रकारिता गर्ने पत्रकार पनि आउनु होला ! नत्र तँ मूलाको यस्तो बेइज्यत गर्छु कि शीर ठाडो पारेर हिँड्न सक्दैनस नेपालमा ! जनक ऋषि भन्ने पनि आउनु ! निक्कै फुरफुर गरिस तिमेरुले ऐना हेर्दा थुक्ने बनाइन्छु भने मेरो नाम हर्क साम्पाङ होइन !’
उनले खोज पत्रकारिता गर्ने पत्रकार भनेर दाहाललाई र जनक ऋषि भनेर नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईलाई भनेका हुन् । बिहीबार पत्रकार सम्मेलनसमेत गरेर साम्पाङले भने, ‘नडराइ बोल्नु र कसैको सामु नझुक्नु नै मेरो विशेषता हो । यो हर्कवाद हो । यही हो हर्कपथ । म चेञ्ज हुन्न । म यस्तै हो ।’
फेसबुकमा अरूको चर्को आलोचना गर्ने र आफूअनुकूल समाचार नलेख्नेविरूद्ध अभिव्यक्ति दिने साम्पाङले कानुन हातमा लिएर सामाजिक सञ्जालको दुरुपयोग गरेकोमा कुनै पश्चात्ताप गरेनन् । आफूबाट गल्ती भएको स्वीकार गर्नुको साटो उल्टै पत्रकार दाहाल र राईको सम्पत्ति छानबिन हुनुपर्छ भन्दै दम्भ देखाए ।
साम्पाङले राजनीतिक दलहरूको एजेन्डा आफूलाई असफल बनाउनु रहेको आरोपसमेत लगाए । ‘दलहरूको एजेन्डा भनेकै हर्क साम्पाङलाई असफल बनाउनु हो । मैले मेरै सम्पत्ति छानबिन गर्न पत्र पठाउँदा पनि अख्तियारले सुनेन । दलीय ‘सेटिङ’मा चल्ने पत्रकारको दिन गए,’ उनले भने ।
पत्रकार दाहालले खोपकेका लागि ‘हर्क साम्पाङको मनमौजी शासन, बेथितीको दलदलमा धरान’ शीर्षकमा समाचार लेख्दै नक्कली माओवादी बनेर चन्दा उठाएको सम्पाङको विगत सार्वजनिक गरेका थिए । त्यसपछि मेयर साम्पाङको चौतर्फी आलोचना भइरहेको छ । सनसनीपूर्ण खुलासा गर्ने पत्रकारमाथि उनका समर्थकसमेत खनिएका छन् । अश्लील शब्द प्रयोग गरेर सामाजिक सञ्जालमै गालीगलौज गरिरहेका हुन् ।
आफ्ना विवादित विगत र गलत कार्यशैलीको ढाकछोप गर्ने नाममा धरानका प्रमुख साम्पाङसँगै उनका समर्थकले सामाजिक सञ्जालमार्फत असभ्य एवं अश्लील भाषा प्रयोग गरेर समग्र पत्रकारिता क्षेत्रकै मानमर्दन हुने गरी धम्की दिइरहेका छन् । उक्त हर्कतले साम्पाङ आफ्ना कर्तुत लुकाउन केसम्म गर्छन् भन्ने पुष्टि हुने सरोकारवाला बताउँछन् ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सुशासनको नारा दिने मेयरको गैरकानुनी हर्कतका कारण उनीबाट परिवर्तनको आशा गर्न नसकिने भनेर साम्पाङको चर्को आलोचना गरिरहेका छन् । समाचार प्रकाशन भएको विषयमा चित्त नबुझ्दा कानुनी उपचार खोज्ने बाटो खुला हुन्छ ।
तर, आफूमाथि आरोप लागिसकेपछि ‘निर्दोष हुँ’ भन्ने प्रमाण प्रस्तुत गर्नुको साटो साम्पाङले अर्को बाटो अपनाउँदै कानुनविपरीतको हर्कत गरिरहेका छन् । पत्रकारलाई दिएको धम्कीबाट नै साम्पाङको विगत विवादित थियो र उनी गैरकानुनी काममा संलग्न छन् भन्ने प्रष्ट हुने सरोकारवाला बताउँछन् ।
पत्रकारिता सिध्याइदिने धम्की आएपछि पत्रकार दाहालले असुरक्षित महसुस गरेका छन् । मुलुकी खबरसँग कुरा गर्दै दाहालले साम्पाङ र उनका समर्थकका कारण असुरक्षित महसुस भइरहेको तथा आफूमाथि सुरक्षा खतरा बढेको बताए ।
यसअघि पनि साम्पाङको उक्साहटमा उनका समर्थकले धरानकी पत्रकार सञ्जिता धमलामाथि आक्रमण गरेका थिए । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भिडियो एक्स–रे गर्ने लाइनमा बसेका बेला गत साउनमा धमलामाथि आक्रमण भएको थियो । आक्रमणमा संलग्न केहीलाई प्रहरीले पक्राउ गरेर कारबाहीको दायरामा ल्यायो । केही अहिलेसम्म फरार छन् ।
‘विगतका घटनाले पनि साम्पाङको आलोचना हुँदा समर्थक आक्रमण गर्न तम्सिन्छन् भन्ने प्रष्ट हुन्छ,’ दाहालले भने, ‘कानुनी कारबाहीका लागि अघि बढ्ने विषयमा पत्रकार महासंघलगायतका निकायसँग छलफल भइरहेको छ ।’ घटनाको नेपाल पत्रकार महासंघसहित सरोकारवालाहरुले विरोध गरिरहेका छन् ।
नेपाल पत्रकार महासंघ सुनसरी शाखा, कोशी प्रदेश समिति र केन्द्रीय समितिले अलगअलग विज्ञप्ति जारी गर्दै साम्पाङलाई कारबाही हुनुपर्ने माग गरेका छन् । ‘स्थानीय सरकारको प्रमुखले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षामा काम गर्नुपर्नेमा त्यसलाई खुम्च्याउने, पत्रकारलाई गालीगलौज र धाकधम्की दिने तथा समर्थकहरु परिचालन गरेर पत्रकारलाई असुरक्षित बनाउने हर्कत गरिरहेका छन्,’ नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका महासचिव विवेक गौतमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संविधान तथा कानुनको उल्लंघन गर्दै साम्पाङ र उनका समर्थकहरुले गरिरहेको अपराधिक हर्कतलाई नियन्त्रण गर्न, निजहरुमाथि साइबर अपराध र गालीबेइज्जती मुद्दामा कारबाही चलाउन तथा पत्रकारलाई स्वतन्त्रतापूर्वक समाचार लेख्ने वातावरण निर्माण गर्न सरकारसहित सबै सरोकारवालासँग आग्रह गर्दछौं ।’
पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले पनि घटनालाई गम्भीर रूपमा लिएर छलफल गरिएको बताए । उनका अनुसार छलफलका क्रममा घटनाका बारेमा इलाका प्रहरी कार्यालय धरानका लिखित जानकारी दिने, जिल्ला प्रशासन कार्यालय सुनसरीसँग सुरक्षाको माग गर्ने र नेपाल बार एसोसिएसन सुनसरीसँग समन्वय गरेर कानुनी कारबाहीमा अघि बढ्ने सहमति भएको छ ।
हर्क साम्पाङ र उनका समर्थकले गरेको सामाजिक सञ्जालको दुरुपयोग कानुनी कारबाहीको विषय बन्नसक्ने देखिन्छ । उनी र समर्थकहरुविरुद्ध प्रहरीमा जाहेरी पर्यो भने ‘साइबर क्राइम’ (विद्युतीय कारोबार ऐन)अन्तर्गत मुद्दा चल्ने प्रशस्त आधार र प्रमाणहरु छन् । साम्पाङले नै आफूविरुद्धका प्रमाणहरु तयार पारेका हुन् ।
विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ मा विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्ने विषय उल्लेख छ । दफा ४७ को उपदफा १ मा भनिएको छ, ‘कम्प्युटर, इन्टरनेटलगायतका विद्युतीय सञ्चार माध्यमहरुमा प्रचलित कानुनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरु वा सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदाय बीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरु प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।’
इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगू घटनाका बारेमा जानकार रहेको बताउँछन् । ‘घटनाका बारेमा जानकारी रहेकाले शान्ति सुरक्षामा कुनै कमजोरी हुन दिइने छैन । अहिलेसम्म पीडित भएँ भनेर कसैले जाहेरी दिनु भएको छैन । कानुनबमोजिम जाहेरी आएमा दर्ता गरेर अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अघि बढाउँछौं,’ जबेगूले भने ।
वरिष्ठ अधिवक्ता मानबहादुर रुम्दाली पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गर्ने प्रवृत्ति मौलाएको बताउँछन् । सामाजिक सञ्जालमार्फत धम्क्याउन नपाइने बताउँदै उनले भने, ‘यदि कसैले त्यसो गरेमा गालीबेइज्जती वा ‘साइबर क्राइम’को विषय बन्नसक्छ ।’
सामाजिक सञ्जालको दुरुपयोग गर्दा स्थानीय सरकारका प्रमुख भएकैले छुट नहुने वरिष्ठ अधिवक्ता रुम्दाली बताउँछन् । ‘यस्ता गैरकानुनी हर्कतले समाजमा गलत सन्देश जान्छ । कानुनको अज्ञानता क्षम्य हुँदैनभन्ने कुरा सबैले बुझ्नुपर्छ । साम्पाङको विषयमा ‘साइबर क्राइम’ आकर्षित हुने देखिन्छ,’ उनले भने ।
नेपाल प्रहरीका पूर्वएआईजी ठूले राई कानुनविपरीतको काम गर्ने छुट कसैलाई नभएको बताउँछन् । ‘मुलुकमा कानुन पनि छ भन्ने हेक्का सबैले राख्नुपर्छ । अझ जनप्रतिनिधिले त सामाजिक सञ्जालको प्रयोगमा बहुत सावधानी अपनाउनुपर्छ,’ राईले भने ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष हिमा चेम्जोङ सम्पाङको अभिव्यक्ति सधैं नै गलत हुने गरेको बताउँछिन् । ‘जनताले जिताएको प्रतिनिधिले घृणित हर्कत गर्नु लज्जास्पद हो । यदि पत्रकारले गलत नै गरेको भए उजुरी दिने वा कानुनी उपचार खोज्ने बाटो खुला छ । सामाजिक सञ्जालमार्फत गालीगलौज गर्नु र धम्की दिनु नाजायज हो । सामाजिक सञ्जालको दुरुपयोग गर्न जनताले जिताएको हैन । कानुनलाई हातमा लिने काम मान्य हुँदैन,’ उनले भनिन् ।
नेपाल पत्रकार महासंघ कोशीका तत्कालीन कार्यवाहक अध्यक्ष लवदेव ढुंगानाले कानुन हातमा लिएर श्रमजीवी पत्रकारविरुद्ध उत्रने मेयरले माफी नमागेमा कानुनी कारबाही भोग्न तयार हुनुपर्ने बताए । आफूविरुद्ध कुनै समाचार आउँदा प्रमाणका आधारमा खण्डन गर्नुपर्नेमा धम्की दिएर समग्र प्रेसलाई आतंकित बनाउँदै समाजमा अराजकता मच्चाउने र भीडबाट शासन गर्न खोज्ने कुत्सित मनशाय देखिएको उनको भनाइ छ ।
‘संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध मेयरले बेलगाम दिएको धम्की सर्वथा अस्वीकार्य छ । मेयर साम्पाङको अपराधकर्मको घोर निन्दा र भत्र्सना गर्दछु,’ ढुंगाना भन्छन्, ‘पत्रकारिता क्षेत्रमाथि हुने जुनसुकै किसिमका आक्रमणहरुको सशक्त सामना गर्न हामीसमक्ष छौं भन्ने कुरा हेक्का राख्न ‘म नै राज्य हुँ’ भन्ने भ्रम पालेका मेयरलाई चेतावनी दिन चाहन्छु । सार्वजनिक रूपले सामाजिक सञ्जालमा नागरिक र पत्रकारलाई धम्की दिने एवं समाजमा अराजकता मच्चाउने साम्पाङलाई तत्काल पक्राउ गरी कारबाही गर्न आग्रह गर्दछु ।’
मेयर साम्पाङले भने यो विषयमा कुनै प्रतिक्रिया दिन चाहेनन् । ‘धरान नै आउनुस् न, भेटेर कुरा गरौं’ भन्दै उनले फोन काटिदिए ।