
विराटनगर । सनुसरीको इटहरीको दुई स्थानमा शंकास्पद बस्तु भेटिएको छ । इटहरी उपनगरपालिकाकाे कार्यालय अगाडिको घुम्ती पसल र बुढीखोला पुलमा शंकास्पद बस्तु भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाका अनुसार उपमहानगरपालिका अगाडिको शंकास्पद बस्तु निस्क्रिय गर्नका लागि नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको छ । बुढीखोलाको पुलमा शंकास्पद बस्तु भएनभएको विषयमा खाेजी भइरहेकाे उनले बताए ।
आज बिहान इलाका प्रहरी कार्यालय इटहरी र पकलीमा राजावादी समूहको नाममा भोटेपुल, बुढीखोला र उपमहानगरपालिका अगाडि कालो झोलामा बम राखेको भन्दै म्यासेज आएको थियो ।
सूचनामा भनिए अनुसारको कालो झोला भने उपमहानगरपालिकाकाे कार्यालय अगाडि मात्रै भेटिएको छ । बुढी खोला पुल मुनि एउटा बोरा भेटिएको छ । बाेरामा शंकास्पद बस्तु भएनभएकाे विषयमा तालिम प्राप्त कुकुरसहितकाे टाेली खटिएकाे उनले बताए ।
सुनसरीका प्रहरी उपरीक्षक तिम्सिनाका अनुसार राजावादी समूहको नाममा बम राखेको भन्दै प्रहरीलाई सूचना आएको थियो । शंकास्पद बस्तु राख्नेको खोजी भइरहेको उनले बताए ।

























