
विराटनगर । कोशी प्रदेश सरकारले संकटग्रस्त सहकारी व्यवस्थापनका लागि वरिष्ठ अधिवक्ता भरतबहादुर थापाको अध्यक्षतामा समिति गठन गरेको छ ।
बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले थापाको अध्यक्षतामा संकटग्रस्त सहकारीको व्यवस्थापन समिति गठन गरेको हो ।
समितिको सदस्यमा धनप्रसाद शिवाकोटी र जीवन काफ्ले सदस्य नियुक्त भएकाे मुख्यमन्त्री हिक्मतकुमार कार्कीकाे सचिवालयले जानकारी दिएकाे छ ।
समितिको सदस्य सचिव सरकारले तोक्ने छ । सदस्यमा सहकारी संघले एक जना प्रतिनिधि पठाउँनेछ । सरकारले समिति गठन गर्ने निर्णय गरेपनि समिति सदस्यको नाम सार्वजनिक गरेको छैन ।
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीका अनुसार बैठकले समितिको काम कर्तव्य र अधिकार पनि टुंगो लगाएको छ ।
गत कात्तिक ४ गते प्रदेश सरकारले ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’ मार्फत प्रदेश सहकारी ऐन २०७६ संशोधन गरेको थियो ।
संशोधनमा ‘कुनै सहकारी संस्था वा संघलाई समस्याग्रस्त घोषणा गरेपछि त्यस्तो संस्थाको सम्पति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि छुट्टै समिति बनाउने’ उल्लेख थियो ।

























